फोक्सिङ्टार पुल : निर्माणको काम सकिन लागेपछि जस लिने होडबाजीमा नेता — OSNepal

फोक्सिङ्टार पुल : निर्माणको काम सकिन लागेपछि जस लिने होडबाजीमा नेता

LC (KTM) October 16, 2022 0

खोटाङ-सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोसीको फोक्सिङ्टारमा निर्माणाधीन पक्की पुलको स्ल्याप ढलान बिहीबार साँझ सकिएको छ । विसं २०७३ चैत २२ गते सम्पन्न गर्नेगरी विसं २०६९ चैत २३ गते ठेकेदार कम्पनी गौरी पार्वती वाइपी जेभीसँग सम्झौता भएको फोक्सिङ्टार पुल निर्माणको कामले पछिल्लो समय गति लिएको हो । खोटाङबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने फोक्सिङ्टारको पक्की पुल निर्माणमा ढिलासुस्ती हुँदा प्रत्यक्ष असर जिल्लाको आर्थिक क्रियाकलापदेखि विकास निर्माणमासमेत पर्दै आएको छ । पुल निर्माणमा ढिलासुस्ती हुँदा सात वर्षदेखि फोक्सिङ्टारमा अस्थायी बेलिब्रिज जडान गर्ने तथा झिक्नेक्रममा राज्यकोषको करोडौँ रकम खर्च भइसकेको छ ।

अस्थायीरूपमा जडान गरिने फोक्सिङटारको बेलिब्रिज हटाएपछि कटारी–घुर्मी–जयराम हुँदै यात्रा गर्नुका साथै दैनिक उपभोग्य सामग्री ढुवानी गर्नुपर्ने जिल्लावासीको बाध्यता छ । ठेकेदार कम्पनीको लापरबाहीका कारण पुल निर्माणमा ढिलासुस्ती हुँदा आवतजावत गर्नदेखि दैनिक उपभोग्य सामान ढुवानीमा समेत समस्या हुने गरेको छ । खोटाङ र भोजपुर जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने मध्यपहाडी लोकमार्ग सडकखण्डअन्तर्गत जयरामघाटपछिको अर्को महत्वपूर्ण राजमार्गमा पर्ने फोक्सिङ्टारमा पक्की पुल नहुँदा हरेक वर्ष बर्सातका समयमा यातायात ठप्प हुने गरेको छ । पुल अभावमा हरेक वर्ष करिब छ महिना उक्त सडकखण्ड अवरुद्ध हुँदा जिल्लामा दैनिक उपभोग्यवस्तुको मूल्यवृद्धि हुने गरेको छ ।

फोक्सिङ्टार पुल निर्माणको जिम्मा लिएको ठेकेदारले पटकपटक आफैँले गरेको प्रतिबद्धता कुल्चँदै आएको छ । विसं २०७८ माघ २६ गते काठमाडौँमा भएको छलफलका क्रममा खोटाङकै दिप्रुङ चुइचुम्मा गाउँपालिकाका तत्कालीन प्रमुख हाल प्रदेशसभा सदस्यका उम्मेदवार भूपेन्द्र राई र सडक विभाग पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ का प्रमुख इञ्जिनीयर कैलाश साहको अगाडि निर्माण कम्पनीका ठेकेदार रामकुमार थापाले पछिल्लो पटक थपिएको समयसीमाभित्र जसरी पनि पुलको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

फोक्सिङ्टार पुल निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि चासो देखाएको थियो । ठेक्का लागेको लामो समयसम्म पुल निर्माणको प्रगति ‘शून्य’ देखिएपछि अख्तियारले ढिलासुस्ती नगर्न र तोकिएको म्यादभित्र पुल निर्माणका सम्पूर्ण काम पूरा गर्नेगरी कामलाई अघि बढाउन विसं २०७४ माघ २ गते ठेकेदार कम्पनीलाई लिखितरूपमै पत्राचार गरेको थियो । फोक्सिङ्टारमा सुरुमा ‘ससपेन्सन ब्रिज’ निर्माणका लागि ठेक्का लागेको थियो तर, त्यसको सट्टा ‘आर्क’ डिजाइनको पक्की पुल निर्माण गर्ने भन्दै विसं २०७३ कात्तिकमा डिजाइन परिवर्तन गरिएको थियो । फोक्सिङ्टारको भौगोलिकस्वरूप अप्ठ्यारो भएका कारण ‘ससपेन्सन ब्रिज’ निर्माणको काममा ढिलाइ हुने भएको भन्दै डिजाइन परिवर्तन गरेर ‘आर्क’ डिजाइनको पुल निर्माण सुरु गरिएको हो ।

खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने ‘आर्क’ डिजाइनको पुल निर्माणको कामले पछिल्लो समय भने गति लिएको छ । रु २२ करोड ६७ लाख ११ हजारमा पूरा गर्नेगरी निर्माण कम्पनीले ठेक्का लिएको फोक्सिङ्टार पुल एक सय २० मिटर लम्बाइको हुने डिजाइनमा उल्लेख छ । निर्माण सुरु गरेको १० वर्षपछि सम्पन्न हुने छाँट देखिएको फोक्सिङ्टार पुल अहिले जिल्लास्थित राजनीतिक दलका नेताहरूको जस लिने माध्यम बनेको छ । आगामी मङ्सिर–४ गते देशभर एकैसाथ हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन मिति नजिकिएसँगै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राखेर मतदातालाई भ्रम फैलाउने होडबाजीमा नेताहरू लागेका छन् ।

स्ल्याप ढलान भइरहेको अवस्थामा फोक्सिङ्टार पुलको तस्वीर फेसबुकमा राखेर फलानो दलका फलानो नेताको पहल सम्पन्न हुन लागेको भनेर बधाई दिने नेता तथा कार्यकर्ताहरू पनि उत्तिकै देखिएका छन् । सबैभन्दा बढी नेकपा (एमाले)का पोलिटब्युरो सदस्य एवं प्रतिनिधिसभा सदस्यका उम्मेदवार विशाल भट्टराईको नाम जोडेर फेसबुकमार्फत बधाई दिने एमाले कार्यकर्ताको लर्को देखिएको छ ।

एमाले नेता भट्टराईलाई बधाई तथा शुभकामना दिनेमध्ये एक प्रतिनिधि पात्र हुनुहुन्छ केशव चाम्लिङ दोबालिछा । उहाँले भट्टराईलाई गरेर आफ्नो फेसबुक फेजमा लेख्नुभएको छ, “खोटाङको लाइफलाइन उदयपुरको रौतामाई गाउँपालिका–५ सँगै जोडिएको फोक्सिङ्टार पुल सम्पन्नताको अन्तिम चरणमा छ । योगदान र चासो त धेरैको होला तर, नेकपा एमालेका नेता खोटाङ्गे जनताको ढुकढुकी मा. विशाल भट्टराईको योगदान, पहलकदमी र निरन्तर खबरदारी विशेष छ । मा. ज्यूलाई विगत झैँ खोटाङ्गे जनताको माया र साथ निरन्तर रहोस् शुभकामना !”

एमाले नेता भट्टराईले पनि कार्यकर्ताको फेसबुकमा लेखिएका स्टाटसमा हो मा हो थप्नुभएको देखिन्छ । यद्यपि, फोक्सिङ्टार पुल निर्माणमा ढिलाइ गर्ने ठेकेदारलाई जिल्लास्थित सबै राजनीतिक दलका नेताहरूले आआफ्नो क्षेत्रबाट खबरदारी गरिरहेका छन् । नेता भट्टराईले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समक्ष विसं २०७५ कात्तिक ५ गते ठेकेदार कम्पनी गौरी–पार्वती वाइपी जेभीलाई कालोसूचीमा राखेर कारबाही गर्न माग गर्नुभएको थियो । हाल एमाले उपाध्यक्ष रहनुभएका तत्कालीन गृहमन्त्री थापाले ठेकेदार कम्पनीलाई तत्काल निर्माणको कामलाई अगाडि बढाउन निर्देशन दिए पनि ठेकेदार कम्पनीले कुनै चासो दिएको थिएन ।

उता, जनता समाजवादी पार्टी (जसपा) खोटाङका तत्कालीन अध्यक्ष टङ्कबहादुर थापा (हाल नेकपा माओवादी केन्द्रका प्रदेश समिति सदस्य) लगायत जसपाका जिल्लास्तरीय नेताहरूले तत्कालीन भौतिक पूर्वाधारमन्त्री रेणु यादवलाई भेटेर मन्त्रालयबाटै ठेकेदारलाई फोनमार्फत काम अगाडि बढाउन लगाएका थिए । विसं २०७८ कातिक ३० गते तत्कालीन मन्त्री यादवले ठेकेदारलाई फोन गरेर तत्काल कामलाई अगाडि बढाउन लगाएको केही समयपछि फोक्सिङ्टार पुलको कामले निरन्तरता पाएको थियो ।

सम्झौता गरेर काम थालेको केही समयसम्म निर्माण कम्पनीले पुल निर्माणको कामलाई गति दिए पनि लामो समयसम्म अलपत्र बनेको थियो । विशेषगरी एमालेले श्रेय लिन खोजेको फोक्सिङ्टार पुलको योजना तत्कालीन नेकपा माओवादीबाट पहिलो संविधानसभा सदस्यमा निर्वाचित रामकुमार राई ‘पासाङ’ र समिता कार्की ‘अस्मिता’को पालामा आर्थिक वर्ष २०६७/०६८ मा परेको हो ।

फोक्सिङ्टार निर्माणाधीन पक्की पुल आगामी मङ्सिरभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको ठेकेदार रामकुमार थापाले बताउनुभएको छ । “फोक्सिङ्टार पुलको स्ल्याप ढलानको काम बिहीबार साँझ सकियो”, उहाँले भन्नुभयो, “अब २१ दिनसम्म क्युरिङ गर्नुपर्छ । त्यसबीचमा दायाँबायाँ रेलिङ हालेर मङ्सिर दोस्रो हप्ताभित्र सञ्चालनमा ल्याउने तयारी गरेका छौँ ।”योजना जसको पहलमा परे पनि निर्माणाधीन फोक्सिङटार पुल सञ्चालनमा आएपछि भने जिल्लामा दैनिक उपभोग्यवस्तुको मूल्य घट्नुका साथै आवतजावतमा सहज हुने जिल्लावासीको अपेक्षा छ । तराईसँग सम्पर्क हुने दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङ्टारमा निर्माणाधीन पुल सञ्चालनमाडको फोक्सिङ्टारमा निर्माणाधीन पुल सञ्चालनमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर