सीमावर्ती क्षेत्रका किसान प्राङ्गारिक खेतीबाट मनग्ये आम्दानी गर्दै — OSNepal

सीमावर्ती क्षेत्रका किसान प्राङ्गारिक खेतीबाट मनग्ये आम्दानी गर्दै

LC (KTM) June 27, 2021 0

रसुवा , १३ असार टिमुरे क्षेत्रका किसानले प्राङ्गारिक खेतीबाट मनग्ये आम्दानी लिन थालेका छन् । गोसाइँकुण्ड गाउँपालिका वडा नं २ टिमुरे खैदी क्षेत्रमा तीन वर्षदेखि तरकारी खेती,च्याङग्रा र चौरीगाई पालन शुरुआत गरिएको थियो । स्थानीयवासी कामीनुर्पु तामाङले स्वदेशमा नै प्राङ्गारिक खेतीबाट मनग्ये आम्दानी हुन थालेको जानकारी दिनुभयो । भिरालो ठाउँको बाँझो जमिनलाई तरकारी खेती तथा पशुपालनमा सदुपयोग गर्दै आएको उहाँले बताउनुभयो । रसुवागढी प्राङ्गारिक कृषि तथा पशुपालन अनुसन्धान केन्द्रको नाममा दर्ता गरिएको निजी कृषिफर्मले वार्षिक रु ८० लाखसम्म आय गर्न थालेको जनाइएको छ । कृषि फर्ममा हाल स्थानीय कुखुरा , लौकाट , च्याङग्राको बोका र स्थानीय बोका ,चौरीगाई , याक र स्थानीय जातका गाई रहेका छन् ।

कृषि उपज तर्फ ब्रोकाउली , बन्दा , काउली , मुला , रायो , आलु ,करू , र चाइनिजले उपभोग गर्ने आठ प्रकारका सागसब्जि रहेका छन् ।व्यापारिक नाका क्षेत्रमा भएकाले उत्पादित कृषि उपज स्थानीय स्तरमै खपत हुने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार सो फर्ममा वार्षिक ७० हजार केजी आलु एवं ५० हजार केजी भन्दा बढी करू समेत उत्पादन हुनथालेको छ । गतवर्ष मात्र सो कृषिफर्मले आलु र चीजबाट मात्र रु २५ लाख आय गरेको बताइएको छ । उहाँले भन्नुभयो , “स्वदेशमा केही गर्न सकिन्छ । म युवालाई कृषिमा लाग्न आह्वान गर्दछ । ” शिक्षण पेशा छाडेर कृषिमा लाग्नुभएका उहाँ सरकारले कृषि पेशा लाग्नेलाई सहुलियत दरमा ऋण उपलब्ध गराइदिन सुझाव दिनुहुन्छ ।( रासस )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर