एकै दिन ४०० मिलिमिटर सम्म पानी परेको रेकर्ड — OSNepal

एकै दिन ४०० मिलिमिटर सम्म पानी परेको रेकर्ड

LC (KTM) June 27, 2021 0

काठमाडौँ, १३ असार – जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा सरदर वार्षिक एक हजार ५०० मिलिमिटर पानी पर्छ । सबैभन्दा बढी कास्कीको लुम्लेमा वार्षिक ५०० तथा थोरै माथिल्लो मनाङ र मुस्ताङमा २०० मिलिमिटर वर्षा हुने गरेको तथ्याङ्क छ । बाँकेको चिसापानी क्षेत्रमा केही वर्षअघि एकै दिन अर्थात् २४ घण्टामा ४०० मिलिमिटर पानी परेको रेकर्ड छ । सन् २००२ को जुलाई २३ मा काठमाडौँमा एकै दिन १७७ मिलिमिटर पानी परेको थियो । कमजोर पर्वतीय भूसतह भएकै कारण पनि अकस्मिकरूपमा एकै दिन १०० मिलिमिटरभन्दा बढी वर्षा भएमा जमीनले धान्न नसक्दा नेपालमा बाढी पहिराका घटना हुँदै आएको विशेषज्ञ बताउँछन् ।

जलवायु परिवर्तनको असरबाट हिमनदीको अग्रभाग तीव्ररूपमा पग्लने र हिमताल प्राकृतिक बाँधको नियन्त्रणमा रहन नसकी चाँडो–चाँडो विष्फोट हुनुले पनि पछिल्ला समयमा बाढीका घटना तीव्ररूपमा हुने गरेको बताइएको छ । जलवायु परिवर्तनबाट सिर्जित उच्च जोखिमका हिसाबले नेपाल विश्वमा चौथो स्थानमा छ ।

इसिमोड र युएनडीपीले तयार गरेको संयुक्त विवरणमा नेपालका तीन हजार २५२ हिमक्षेत्रले पाँच हजार ३२३ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको र यहाँ रहेका दुई हजार ३१५ हिमतालमध्ये २२ वटा विष्फोटको खतरामा रहेको उल्लेख छ । पूर्वाधारका रूपमा निर्माण गरिने सडक, ठूला भवन तथा सिँचाइको कुलो सुरक्षाका उपाय अवलम्बन गरी ठिक ढङ्गबाट निर्माण नगरिएबाट पहाडी भूभागमा सामान्य वर्षा हुँदासमेत बारम्बार बाढी र पहिराका घटना बढिरहेको छ । यद्यपि नेपालको हकमा मनसुनलाई मुख्यबाली धान, मकै र कोदोलगायतका अन्न र नगदे बालीका लागि वरदान मानिन्छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर