अनुसा थापा-
चुनाव नजिकिदैं गर्दा पैसाको खोलो बगाउने क्रम चलेको छ । चुनावी माहौल तातेसंगै टिकट खरिदबिक्रीको लर्को लागेको हो । मनोनित सांसद्का लागि तीन करोड र प्रत्यक्ष चुनाव लड्नका लागि १० करोड । पार्टीलाई पैसा दिन नसक्नेहरु चुनावी मैदानबाटै बाहिरिएका छन् । विगत दुई दशकदेखि पार्टीमा लागेका र जनताका लागि हिँडेका नेताहरु संग पैसा नहुँदा उनीहरु चुनाव लड्नबाट वञ्चित भएका छन् ।
पार्टीले उनीहरुलाई टिकट नै दिएन् । पार्टीका अध्यक्षहरुलाई टिकट बेचेर पैसा कमाउने अवसर भयो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादी पार्टीका माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका उपेन्द्र यादवलगायतलाई पैसा कमाउने राम्रो मौका बन्यो ।
शीर्ष नेताहरुले सम्पूर्ण उम्मेदवारसंग मोटो रकम असुल्छन् र आफ्नो क्षेत्रमा लगेर खर्च गर्छन् । ताकि चुनाव जित्ने निश्चित होस् । होइन् भने नेताहरुको झोले बन्न सक्नुपर्यो । पार्टी अध्यक्षको चम्चे भएर अघिपछि दौडिन सक्नुपर्यो । यस्ताले चाहि टिकट पाँउछन् । तर, जनता माझ भिजेको, जनताले रुचाएका व्यक्तिहरुले टिकट पाएका छैनन् । जनताबीच लोकप्रिय भएर के गर्नु, पार्टीलाई पोस्न नसकेपछि ।
केही दिनअघि मात्र एमाले प्रवेश गरेका नेपाल प्रहरीका आइजिपी सवेन्द्र खनाललाई काठमाडौं ६ बाट उठाउने तयारी गरिएको छ । आइजिपी हुँदा अर्बौं रुपैयाँ भ्रष्ट्राचार गरेर अंकुत सम्पत्ति कमाएका उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र शुद्धिकरण विभागबाट बच्नका लागि यसो गरेका हुन् । एमालेलाई मोटो रकम दिएर चुनावी मैदानमा होमिन लागेका उनको एक मात्र उदेश्य आफ्नो कर्तुत लुकाउनु हो ।
पार्टीमा योगदान गरेका व्यक्तिले टिकट नपाँउदा काठमाडौं क्षेत्र नम्बर ६ का जनताहरु दुःखित भएका छन् । पार्टीमा लागेर जनताको काम गर्नेले टिकट पाएनन् । एउटा सरकारी जागिर खाएर अर्बौं सम्पत्ति जोडेकालाई टिकट दिइयो । पैसा दिन सक्नेले टिकट नपाउने, नहुनेले नपाउने । कस्तो प्रवृत्ति हो यो ? राजनीति त सेवा होइन् र ? तर, पछिल्लो समय राजनीति व्यापार बनेको छ ।
सार्वजनिक काम नै नगरी पैसाको आडमा चुनाव लड्नेको भीड छ । हिजो पार्टीमा आँउछन्, आज टिकट पाँउछन् । टिकट किनबेच हुँदा राम्रा नेताहरु संधै पछि परिरहेका छन् । उही काम नगर्ने, फट्याहा र दलाल गरेर सांसद् बन्न आएकालाई मत हाल्न बाध्य छन्, जनता । पार्टीले न टिकट दिन्छ न विरोधमा बोल्न नै दिन्छ । पार्टीको विरोधमा चुइक्क आवाज निकाल्यो भने सदस्यता नै खारेज गरिदिन्छ ।
पार्टीको अगाडि निरीह भएर बस्न बाध्य छन्, कार्यकर्ता । टिकट नपाउनेले भकाभक पार्टी नै त्याग गर्नुपर्ने अवस्था आएको छ । निरीह भएर टुलुटुलु हेर्नुको साटो पार्टी छोडेर स्वतन्त्र उम्मेदवारी दिनु नै उचित हुन सक्छ । काम गर्ने पार्टीको उम्मेदवार बनोस् कि स्वतन्त्रबाट चुनावी मैदानमा उत्रियोस् जनताले भोट दिइहाल्छन् । पार्टीका अध्यक्ष आफू नजिक भएपछि जे गरेपनि हुन्छ भन्ने उदाहरण महेश बस्नेत र गोकुल बाँस्कोटा हुन् ।
बाँस्कोटामाथि ७० करोड भ्रष्ट्राचारको आरोप लागेको छ । सञ्चारमन्त्री हुँदा उनले खरिद प्रकरणमा ७० करोड घुस मागेको त कसैले पनि बिर्सिएका छैनन् । उनले बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपनि काभ्रेका जनताको शिर लाजले निहुरिएको छ । अब काभ्रेली जनतामा निकै चेतना आइसकेको छ । फेरि पनि भ्रष्ट्राचार गर्ने मौका बाँस्कोटालाई काभ्रेली जनताले दिने छैनन् ।
पानी, बत्ती, रोजगारी, स्वास्थ्य, शिक्षाको अपेक्षा गरेर काभ्रेली जनताले भोट दिएका थिए । तर, बाँस्कोटा मन्त्री भएर आउनेबित्तिकै घुस काण्डमा मुछिए । भन्नलाई भक्तपुर उपत्यकाभित्र पर्छ । तर, विकासको हिसाबले हेर्ने हो भने जुम्ला, हुम्ला भन्दा पनि फरक नपर्ला । महेश बस्नेतले विकासको सिन्को पनि भाँचेका छैनन् । उनले जनताको काम गर्न अलिकति पनि चासो देखाएनन् ।
बरु, इट्टाभट्टालाई उपत्यकाभित्रै सञ्चालन गर्न दिएर र मदिरा उद्योगलाई लाइसेन्स बाँडेर उनले अर्बौं रुपैयाँ भ्रष्ट्राचार गरेको बताइन्छ । भक्तपुरकै जनताहरु उनको कर्तुतबारे खुलेआम बोल्न डराउदैनन् । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको यस्ता दलालीलाई जनताले नै हराउनुपर्छ । पार्टी टिकट दिएपनि जनताले जिताउनुहुदैन् ।
पैसा र प्रलोभनका जनताहरु बिक्नुहुदैंन् । आफ्नो नातेदार भनेर आफ्नो अमूल्य मत बेकारका व्यक्तिहरुलाई दिनुहुदैंन् । हामीमाथि नै कर बढाउँछ अनि त्यो कर विकासको साटो व्यक्तिगत सेवासुविधामा खर्चिन्छ । जनताले अधिकांश नेतालाई राम्ररी चिनेका छन् । त्यस्तालाई ठिक ठाँउमा ल्याउन जरुरी छ । केपी शर्मा ओलीले दुई पटक सांसद् विघटन गरेका छन् ।
उनलाई भोट दिनुअघि जनताले निकै पटक सोचविचार गर्नुपर्छ । एमालेलाई पहिले जसरी आँखा चिम्लेर भोट दिनु भनेको आफ्नो खुट्टामा आफैंले बञ्चरो हान्नु हो । यसअघि भोट दिएर जनता आफै चेतेका होलान् । अब फेरिपनि सोही काम नगर्दा उचित होला । पाँच वर्षको कार्यकालसमेत चलाउन नसकेलाई भोट दिनु भनेको मुलुक ध्वस्त पार्नु मात्र हो । हरेक पार्टीले दोहोर्याएर टिकट दिइरहेको पाइन्छ ।
कि पैसा लिएर व्यापारी र दलालीलाई टिकट दिने । सिधासाधी वर्षौ पार्टीमा लागेकाले टिकट नै पाँउदैनन् । २०७९ साल वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा समेत पैसा खर्च गर्ने होडबाजी नै चलेको थियो । चुनाव जित्नका लागि १० करोडसम्म खर्च गरेको बताइन्छ । यता, पार्टीलाई दिएको रकम छुट्टै छ । यत्रो पैसा खर्च गरेपछि उसको सोचाइ नै पैसा उठाउनेतिर मात्र हुन्छ ।
साहुब्याज नै भ्रष्ट्राचार गरेर उठाँउछ । भ्रष्ट्राचार गर्दागर्दै कार्यकाल सकिन्छ, जनताको समस्या ज्युँको त्यु । चुनाव लड्नका लागि व्यापारीहरुसंग चन्दा उठाँउछन् । व्यापारीसंग पैसा लिइसकेपछि मँहगी बढिहाल्छ । कि त आफ्नो नजिकको ठेकेदारलाई ठेक्का दिन्छन् र भ्रष्ट्राचार गर्छन् । उता, सरकारी र गुठीका जग्गाको दुरुपयोग बढ्छ । कि त कर बढाउछन् । जताबाट असुलेपनि जनता नै मर्कामा पर्ने हुन् ।
गुण्डा, व्यापारी, दलालीहरुले पार्टीलाई पोसेर टिकट लिइरहेका छन् । तर, जनताको हितमा काम गरेका नेता, कार्यकर्ता यो चोटि पनि चुनाव लड्नबाट वञ्चित भए । चुनाव मैदानमा उत्रिन पनि दिइएन् । राजनीतिमा लागेर कपाल सेताम्मे पारेका, घरखेत सिद्धाएका नेताहरुलाई नै राजनीतिबाट घिन लागेको छ । टिकट नपाँउदाको दुःख तिनलाई मात्र थाहा छ ।
राजनीतिका लागि आफ्नो घरपरिवारबाट घृणित भए । छोराछोरी पढाउन पनि धौ पर्यो । तर, तिनले के नै पाए ? सांसद् बन्ने उनीहरुको सपना चक्नाचुर भयो । पछिल्लो समय स्वतन्त्रबाट उम्मेदवारी दिनेहरुको संख्या बढेको छ । पार्टीले टिकट नदिएपछि आखिरी विकल्प नै यो हो । स्वतन्त्र भएर जनतामाझ जाने, जनताले पत्याए पत्याउछन् नपत्याए पनि ठिकै छ भन्नेहरु छन् ।
गत बैशाख ३० गतेकै नतिजा नै उदाहरणीय छ । एमाले, कांग्रेस जस्तो ठूला पार्टीलाई साइडमा राखेर काठमाडौंका जनताले बालेन्द्र शाहलाई विजयी बनाए । यता, धरानमा पनि हर्क साम्पाङ्गले बाजी मारे । स्वतन्त्र विजयी बनेको देखेपछि रवि लामिछाने पनि ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ खोलेका छन् । स्वतन्त्रको नाम लिएर जित्छु भनेर हिँडेका लामिछानेको यो सपना पनि छिटै टुक्राटुक्रा हुदैछ ।
राजनीतिक पार्टीबाट आएका जनप्रतिनिधिहरु काम नगर्ने अनि सरकारी सेवासुविधा मात्र लिने । तर, बालेनले त जनताको शिर निहुरिने काम गरेनन् । आज मुलुकभर बालेन नै चर्चा छ । काम गर्नलाई पार्टी नै चाहिन्छ भन्ने जुन भ्रम थियो, त्यो बालेनले तोडेका छन् । त्यसैले पनि आगामी निर्वाचनमा स्वतन्त्रबाट उम्मेद्वारी दिनेको चाप बढेको हो । राजनीतिक दलहरु बालेनको काम देखेर तर्सिएका छन् ।
बुढादेखि भुरासम्म बालेनको समर्थनमा उत्रिदा राजनीतिक दलहरु घृणित भएका छन् । १० करोड खर्च गरेर चुनाव लड्नुभन्दा नलड्नु नै बेस् होला । बेकारमा किन जनताको आँखामा काँडा बन्ने । पैसा खर्च गरेर टिकट लिने र चुनाव जित्ने क्रम बन्द गरौं । महेश बस्नेतले बालेनलाई धम्काउने खोज्दा मुसाजस्तो भएर दुलोभित्र छिर्नुपरेको थियो । आफ्नो पृष्ठभूमि देखाउन खोजेका थिए तर जनताको अगाडि केही लागेन् ।