भुसको आगो निभाउन गाह्रो छ,
भत्किएको मन बुझाउन गाह्रो छ,
लागेको दाग मेटाउन गाह्रो छ,
लिसो झैँ टाँसिएको सोच परिवर्तन गर्न गाह्रो छ,
मेरो आफ्नै नितान्त व्यक्तिगत बिचार। अरू सग नमिल्न पनि सक्छ। हेर्दा, पढ्दा र बुझ्दा विरोधाभाष लाग्न पनि सक्छ, यद्दपी म मेरो बिचार राख्न स्वतन्त्र छु।मेरो यस्तो बिचारले कसैको मन दुखाउने मेरो अभिप्राय पनि होईन, यदि दुखि हाल्यो भने पनि मेरो भन्नु केहि छैन। हाल सालै काठमाडौमा घरधनी र कोठा खोज्ने बीचको घम्सा घम्सीले ठूलो तरङ्ग नै ल्याईरहेको छ, अझै सेलाएको छैन। र हतपत सेलाउने पनि छैन।सेलाओस पनि कसरी ? यो त भुसको आगो हो, जो सदिऔ देखि नै सल्किदै आईरहेको छ।
भुसमा आगो लगाएर चुल्होमा आगो सल्काउन खोज्नेहरू बर्गेल्ति छन्। यसको मूल कारण नेपथ्यमा लुकेको हाम्रो मनोबिज्ञान हो। हो,त्यहि मनोविज्ञान आज “दलित” बनेर हाम्रो ब्यबहारमा खरो सँग उत्रियो र यसले हामीलाई यति सम्म जकडेको छ कि जुन तपाई हाम्रो कल्पनाबाट धेरै टाढा छ। जसलाई हाम्रो सोच, संस्कार, परम्परा, रीतिरिवाज र मुख्यतया: ब्यबहारको उपज हो भन्दा अलिकति पनि फरक नपर्ला।
यदि सोच सकारात्मक छ भने त्यस्तो मानसिकताको उपज पनि सकारात्मक नै हुन्छ।यसको उल्टो सोच दरिद्र छ भने त्यस्तो मानसिकताको उपज पनि घटिया नै हुन्छ, हो यस्तो सोचलाई नै “दलित” भन्नु पर्छ भन्छु म। तर हाम्रो समाजमा त कुनै व्यक्ति, कुनै वर्ग, कुनै जातलाई नै ट्याग लगाईदिए “दलित” भनेर। हो, आज यहि “दलित” शब्दको गलत र अस्वाभाविक प्रयोगले तपाई हाम्रो मानसिकतामा बिचलन ल्याएको छ, हाम्रो सामाजिक सद्भाव र सहिष्णुतालाई झण्डै झण्डै ध्वस्त बनाएको छ। यो घटनालाई सुक्ष्म विश्लेषण गरेर हेर्दा म आज न घरधनी सरस्वति प्रधान दिदिलाई दोष दिन सक्छु न त कोठा भाडा खोज्ने रूपा सुनार बहिनीलाई दिन सक्छु। यो त एउटा प्रतिनिधिमूलक घटना मात्रै हो।दोष दिनै पर्ने हो भने हाम्रो समाजको “भ्रष्ट मनोविज्ञान सोच” लाई नै दिन्छु। जसले “दलित “भन्ने शब्द जन्माएको छ। जबसम्म यस्तो “भ्रष्ट सोच” तपाई हाम्रो मानसपटलबाट निमिट्यान्न हुदैन, तबसम्म यो भुसको आगो दनदनी बलि नै रहने छ।
रगत सबैको रातो हुन्छ,
जिउदो छँदा तातो हुन्छ,
मरे पछि माटो हुन्छ,
आगोले न जात भन्छ, न धर्म भन्छ,
आगोले जलाउँदा सबै एकनाश खरानी हुन्छ,
त्यसैले यो, त्यो, उ, नभनी
मिलेर बाचौ, सबैको अस्तित्वलाई स-सम्मान स्वीकार गरौ।
#जय मातृभूमि 🙏🙏 -बिष्णु बर्सिंह थापा, अस्ट्रेलिया