भारतमा घट्दै कोरोना: एकै दिन ४८ हजार सङ्क्रमित थपिए, १२ सयको मृ त्यु — OSNepal

भारतमा घट्दै कोरोना: एकै दिन ४८ हजार सङ्क्रमित थपिए, १२ सयको मृ त्यु

LC (KTM) June 26, 2021 0

नयाँ दिल्ली, १२ असार- भारतमा कोरोना संक्रमणबाट थप ४८ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४८ हजार ६९८ जना सङ्क्रमित भएका हुन् ।सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने थप सङ्क्रमितको सङ्ख्याभन्दा बढी रहेको छ । अधिकारीहरुका अनुसार सोही अवधिमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या ६४ हजार ८१८ रहेको छ । त्यसैगरी पछिल्लो एक दिनमा भारतमा कोरोनाका कारण थप एक हजार १८३ जनाको मृ त्यु भएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कोरोनाभाइरसको महामारीको अवस्थामा सुधार आइरहेको जनाएको छ ।भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड एक लाख ८३ हजार १४३ पुगेको पनि अधिकारीहरुले जनाएका छन् । ती मध्ये दुई करोड ९१ लाख ९३ हजार ८५ जना सङ्क्रमणमुक्त भएका छन् भने तीन लाख ९४ हजार ४९३ जनाको मृ त्यु भएको छ । मन्त्रालयका अनुसार भारतमा अहिले पनि पाँच लाख ९५ हजार ५६५ जना कोरोनाबाट सङ्क्रमित अवस्थामै रहेका छन् ।

कुल सङ्क्रमित मध्ये ९६.७२ प्रतिशत मानिस कोरोनाबाट सङ्क्रमणमुक्त भएको तथ्याङ्कले देखाएको छ । ती मध्ये १.३१ प्रतिशतको मात्रै मृ त्यु भएको छ । भारतको स्वास्थ्य अनुसन्धान परिषद्ले पछिल्लो २४ घण्टामा १७ लाख ३५ हजार ७८१ जनाको कोरोना परीक्षण गरेको छ । यही जुन २५ तारिखसम्ममा भारतमा अहिलेसम्म कुल ४० करोड १८ लाख ११ हजार ८९२ पटक कोरोना परीक्षण गरिएको छ ।त्यसैगरी देशभरी अहिलेसम्म ३१ करोड ५० लाख ४५ हजार ९२६ मात्रा खोप प्रयोग भएको छ । ती मध्ये ६१ लाख १९ हजार १६९ जनालाई पछिल्लो २४ घण्टामा खोप लगाइएको छ । (रासस-एएनआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर