नवौँ राष्ट्रिय खेलकुद : गण्डकीबाट सात सय दुई खेलाडीले प्रतिस्पर्धा गर्ने — OSNepal

नवौँ राष्ट्रिय खेलकुद : गण्डकीबाट सात सय दुई खेलाडीले प्रतिस्पर्धा गर्ने

LC (KTM) September 27, 2022 0

गण्डकी -गण्डकी प्रदेशमा यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट सात सय दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।कास्कीसहित गण्डकीका सात जिल्लामा हुने प्रतियोगितामा गण्डकी प्रदेशले सर्वाधिक धेरै खेलाडी दर्ता गराएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आइतबारसम्म प्रतियोगितामा सहभागी हुने टोलीले खेलाडी दर्ता गर्नुपर्ने तालिका बनाएको थियो ।

राष्ट्रिय खेलकुदमा देशका सात प्रदेश, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र गरी तीन विभागीय र एक गैरआवासीय नेपालीको टोलीले प्रतिस्पर्धा गर्नेछन् । राखेपको प्राविधिक उपसमितिका अनुसार गण्डकी प्रदेशपछि विभागीय नेपाली सेनाले छ सय ७३ खेलाडी दर्ता गरेको छ । यसैगरी सशस्त्र प्रहरीको एपिएफ क्लबले पाँच सय २२, नेपाल प्रहरीले चार सय ८८ र सुदूरपश्चिम प्रदेशले चार सय ३६ खेलाडीको नाम दर्ता गराएको छ ।

बागमती प्रदेशले चार सय ३०, प्रदेश नं १ ले तीन सय ७१, मधेस प्रदेशले दुई सय ६२, कर्णाली प्रदेशले एक सय ९७, एनआरएनएले एक सय ३१ र लुम्बिनी प्रदेशले एक सय २३ खेलाडीको नामावली राखेपमा दर्ता गराएका छन् ।आयोजक प्रदेशसमेत रहेको गण्डकीले प्रतियोगिताका ३६ वटै खेलमा सहभागिता जनाउने भएको छ । परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले सबै खेलमा भाग लिइने बताउनुभयो ।

गण्डकी प्रदेश खेलकुद परिषद्ले प्रदेशस्तरीय खेलकुद प्रतियोगिता आयोजना गरी खेलाडी छनोट गरिसकेको छ । छनोट भएका खेलाडीहरुलाई असोज १ गतेदेखि विशेष प्रशिक्षणमा राखिएको परिषद्ले जनाएको छ । दुई साताको विशेष प्रशिक्षणपछि बन्द प्रशिक्षण सुरु हुने सदस्यसचिव गुरुङले जानकारी दिनुभयो । गण्डकी प्रदेशले पदकको बढी आशा भएका कराँते र बास्केटबल खेलका खेलाडीहरुलाई हिमाली जिल्ला मनाङमा उच्च पर्वतीय प्रशिक्षण (हाइअल्टिच्युड ट्रेनिङ) सञ्चालन गरेको छ ।

पोखरासहित गण्डकी प्रदेशका सात जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गतका ३६ मध्ये ३५ खेलहरु हुँदैछन् । पूर्वाधार अभावमा सुटिङ खेल राजधानी काठमाडौँमा हुने तय गरिएको छ । अधिकांश खेलसहित प्रतियोगिताको उद्घाटन र समापन समारोह पोखरा रङ्गशालामा हुने खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक राजेश गुरुङले बताउनुभयो ।

गण्डकीमा चार दशकपछि हुन लागेको राष्ट्रिय खेलकुदकमा ११ टोली सहभागी हुनेछन् भने प्रतियोगितामा तीन सय ९२ स्वर्ण, तीन सय ९२ रजत र छ सय कास्य गरी एक हजार तीन सय ८४ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर