काठमाडौं २९ भदौ । सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका तत्कालैदेखि सञ्चालन गर्न चीन तयार भएको छ ।
चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा नेपालसँगको दुवै नाका खोल्न तयार भएको बताएका हुन् ।
चिनियाँ नेता लीले राष्ट्रपति भण्डारीसँग भेट्नुअघि व्यापारिक क्षेत्र हेर्ने चिनियाँ अधिकारीसँग कुरा गरेकोले नाका तत्कालै खोलिने बताएका हुन् ।
चिनियाँ नेता ली को भनाई उधृत गर्दै राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकालले भने ,
‘यहाँ आउनुअघि मैले व्यापारिक क्षेत्र हेर्ने चिनियाँ अधिकारीसँग कुरा गरेँ, यो सन्देश हाम्रो राष्ट्रपति सि जिनपिङसमक्ष पनि पुगेपछि अब म राष्ट्रपतिज्यूसँग भन्न सक्छु कि नाकाहरु तत्कालै सञ्चालन हुनेछन्’ ।
भेटमा लीले विश्व शान्ति, चीनसँगको मित्रतापूर्ण सम्बन्धलाई निरन्तरता दिएको र एक चीन नीतिप्रति प्रतिवद्धता व्यक्त गरेकामा राष्ट्रपति भण्डारीलाई धन्यवाद ज्ञापन गरे ।