काठमाडौं २९ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाभियोग सिफारिस समितिमा बयान दिने क्रममा अन्य न्यायाधिशको नाम लिएपछि समितिले सबै न्यायाधिशहरुलाई बोलाएको छ ।
वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्यालले जबरालाई जिरह गर्न पाउनुपर्ने माग गरेका छन्। समितिमा निवेदन दिँदै अर्यालले जबराले लगाएका आरोपको सत्यतथ्य जाँच गर्न पनि माग गरेका छन् ।
अर्यालले समितिमा दिएको निवेदनमा भनिएको छ , ‘जबराले समितिमा बयान दिने क्रममा मलाई समेत लान्छना लगाई आरोपित गरेको हुँदा त्यसको सत्यताको जाँच गर्नको लागि सम्मानित समितिसमक्ष उपस्थित भई निजलाई जिरह गर्न पाउँ भनी सादर निवेदन गर्दछु ‘ ।
कठघरामा रहेका अभियुक्त जबराले बिनारोकटोक अरुलाई अनेक आरोप लगाउन पाउने तर उनले आरोप लगाएका पक्षले भने सफाइ गर्न नपाउने अवस्था नरहोस् आफ्नो माग रहेको अर्यालले बताएका छन् ।