काठमाडौं २९ भदौ । आन्दोलनमा उत्रिएका ट्यांकर व्यवसायीले बुधबारदेखि डिजेल र पेट्रोलको आन्तरिक ढुवानी रोकेका छन् ।
भाडा वृद्धिको माग गर्दै आएका व्यवसायीले ढुवानी रोकेपछि नेपाल भर इन्धन वितरण हुने अमलेखगञ्ज डिपोमा इन्धन लिन ट्यांकरहरु नआएको नेपाल आयल निगम अमलेखगञ्ज डिपोले जानकारी दिएको छ ।
दैनिक एक सय ट्यांकर डिजेल र पेट्रोल भर्न आउने उक्त डिपोमा आज जम्मा २ वटा ट्यांकर आएका निगमले जनाएको छ । निगममा प्रशस्त इन्धन र पट्रोल हुँदा पनि ढुवानीको कारण रोकिएको छ ।
यस डिपोबाट काठमाडौं सहित पोखरामा इन्धन ढुनावी हुँदै आएको थियो । हाल अमलेखगञ्ज डिपोमा ३२ लाख ९६ हजार लिटर पेट्रोल मौज्दात छ ।
तथापी, काठमाडौं एक साताका लागि पुग्ने इन्धन पठाइसकेकाले उपत्यकामा इन्धनको तत्काल अभाव नहुने निगमले जनाएको छ ।