काठमाडौं-बेलायतमा साइकल दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा ३४ वर्षे बद्री गौतम रहेका छन् । भलिबल खेल्न निस्किएका गौतम घर फर्कने क्रममा घरबाट करिब ४ मिनेट नजिक रोबिनहुड रोड नेर गल्स एकाडेमी स्कुल आगाडि साइकलबाट पल्टिएका थिए । पल्टिएपछि नटिङघम शहरस्थित क्वीन्स् मेडिकल सेन्टरको सघन कक्षमा उपचारकै क्रममा उनको मृ त्यु भएको बताइएको छ ।
टाउकोमा गम्भीर चोट लागेका कारण अक्सिजन र रगत प्रवाह हुन नसक्दा आइतबार राति १० बजे निधन भएको बताइएको छ । उनी ३ वर्ष अघि पनि साइकलबाटै लडेर टाउकोमा गम्भीर घाइते भएपछि भेन्टिलेटरमा राखेर उनको उपचार गरिएको थियो ।
नेपालको बाग्लुङ गल्कोटका बद्री सन् २००९ मा बेलायत गएका थिए। गौतम बेलायतमा श्रीमतीसंगै बस्दै आएका थिए । उनी सेफको रुपमा कार्यरत थिए ।