काठमाडौं २८ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिरमा हुने निर्वाचनमा सत्ता गठवन्धनले बुथ कब्जा गर्ने योजना बनाइरहेको आरोप लगाएका छन् ।
मंगलबार पोखरामा लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् । गठवन्धनले कुन-कुन जिल्लाका कुन बुथ कब्जा गर्ने योजना बनेको छ भन्ने जानकारीसमेत आफूसँग भएको दावी गरेका छन् ।
गठबन्धनले मान्छे कुट्ने, काट्ने, मार्ने, थुनाउने र बुथ कब्जा गर्ने योजना बनाएको दावी गरेका ओलीले भने , म सरकारको ध्यानाकर्षण गराउँछु र प्रहरी प्रशासनलाई निष्पक्ष भूमिका निर्वाह गर्न आग्रह गर्छु ।’
निर्वाचनमा धाँधली गर्नकै लागि कांग्रेसले सत्तामा बसेर चुनाव गराउने दाउमा रहेको ओलीको तर्क रहेको छ ।
सरकार र गठबन्धनबाट हुनसक्ने धाँधली तथा बुथ कब्जा एमालेले रोक्नुपर्ने भन्दै सबै पार्टी पंक्तिलाई सचेत रहन समेत ओलीले आग्रह गरे ।