काठमाडौं २६ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सर्वोच्च अदालतको भवन ठेक्कामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलले सहयोग गरेको खुलासा गरेका छन् ।
आइतबार तेस्रो पटक बयान दिन हाजिर भएका चोलेन्द्रले महाअभियोग सिफारिस समितिलाई यस्तो खुलासा गरेका हुन् । सर्वोच्चको भवन ठेक्का सदरबारे सोधिएको प्रश्नमा ओली र पौडेलको नाम लिएका हुन् ।
कांग्रेस सचेतक मीन विश्वकर्माले पूर्व प्रधान्यायाधीश, न्यायाधीश र वरिष्ठ वकिलहरुलाई गालीगलौज ठहर हुने शब्दहरु प्रयोग गरेर लान्छना लगाउन खोजेको समेत चोलेन्द्रले बयानका क्रममा बताए । ‘ गालीगलौज ठहर हुने शब्दहरु प्रयोग गरेर लान्छना लगाउनु भएको छ,’ उनले भने ।
‘तत्कालीन प्रधानमन्त्री (केपी शर्मा ओली) र अर्थमन्त्री (विष्णु पौडेल) ले सहयोग पनि गर्नु भएको छ । तत्कालीन अर्थमन्त्री यहीँ हुनुहुन्छ, उहाँले सहयोग गरेका कारण सफल भएको हुँ ।’ बयानका क्रममा चोलेन्द्रले भने ।