चाँगुनारायणको बजेट एक अर्ब ९० करोड ६४ लाख सार्वजनिक,शिक्षा, स्वास्थ्य र सडकलाई प्राथमिकता — OSNepal

चाँगुनारायणको बजेट एक अर्ब ९० करोड ६४ लाख सार्वजनिक,शिक्षा, स्वास्थ्य र सडकलाई प्राथमिकता

LC (KTM) June 24, 2021 0

भक्तपुर, १० असार – चाँगुनारायण नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि कूल रु एक अर्ब ९० करोड ६४ लाख ८४ हजारको बजेट सार्वजनिक गरेको छ । आज नगरपालिकाको नवौँ नगरसभामा नपाका उपप्रमुख बिना बास्तोलाले सडक, शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटनलाई प्राथमिकता दिँदै बजेट सार्वजकि गर्नुभएको हो ।

बजेटमा पूँजीगतमा खर्चतर्फ रु एक अर्ब २४ करोड २ लाख ७४ हजार अर्थात् ६५ दशमलव ५ प्रतिशत र चालु खर्चतर्फ रु ६६ करोड ६२ लाख ९ हजार अर्थात् ३४ दशमलब शून्य ५ प्रतिशत रकम विनियोजन गरिएको छ । नगरपालिकाको आन्तरिक आयतर्फ रु २८ करोड ८४ लाख ५ हजार सङ्कलन हुने प्रक्षेपण गरिएको छ भने व्यवसाय रजिष्ट्रेशन, नवीकरण, सिफारिश, माटो पानी ठेक्का, घर नक्सा पास दस्तुरबाट सबैभन्दा बढी आम्दानी हुने अनुमान गरिएको छ ।सङ्घीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ रु १७ करोड ४५ लाख र सशर्तबाट रु ३३ करोड ३ लाख गरी रु ५० करोड ४८ लाख प्राप्त भएको उपप्रमुख वास्तोलाले बताउनुभयो । राजश्व बाँडफाँडबाट रु ८ करोड ९३ लाख र सवारी साधनको राजश्व बाँडफाँडबाट रु ६ करोड २ लाख प्राप्त भएको बजेट बक्तव्यमा उल्लेख छ । जग्गा रजिष्ट्रेसनबाट रु ३२ करोड प्राप्त हुने अनुमान गरिएको छ ।

वाग्मती प्रदेश सरकारबाट रु एक करोड ५२ लाख १७ हजार र सशर्तमा दुई करोड ४१ लाख ९५ हजार प्राप्त भएको बजेटमा उल्लेख छ । वाग्मती प्रदेश सरकारबाट समपुरकमा रु दुई करोड ९९ लाख ८७ हजार प्राप्त भएको, विशेष र समपूरक अनुदानतर्फ सङ्घीय सरकारबाट रु दुई करोड ४९ लाख प्राप्त भएको र समपूरक योजनामा रु एक करोड ३९ लाख प्राप्त भएको बजेटमा उल्लेख छ । पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको साझेदारीमा नगरपालिकालाई रु चार करोड ५५ लाख प्राप्त हुने र जिल्ला समन्वय समितिको मौज्दात कोषमा रहेको रु छ करोड प्राप्त हुने अनुमान गरिएको उपप्रमुख वास्तोलाले बताउनुभयो । आगामी वर्ष सम्पन्न गर्नेगरी चाँगुनारायण नगरपालिकाको भवनका निर्माण लागि रु १२ करोड, सडक तथा पुल निर्माणका लागि रु ५५ करोड ३६ लाख ६५ हजार ७६ को विनियोजन गरेको छ ।

नगरका बेरोजगार युवालाई रोजगार बनाउन मेयर उद्यमशिलता विकास कार्यक्रमलाई रु तीन करोड, नगरभित्रका मुख्यमुख्य सडकमा बिजुली बत्तीको व्यवस्थापन गर्दै उज्यालो चाँगुनारायण बनाउन रु ६५ लाख, सडक निर्माण, स्तरोन्नति तथा कालोपत्रे, ढलानका लागि वडागत योजना तथा ठूला पूर्वाधारसहित रु ८० करोड ८४ लाख ५६ हजार २९४ को बजेट विनियोजन गरेको छ ।उप–प्रमुख महिला लक्षित कार्यक्रममा १५ प्रकारका तालिम सञ्चालन गर्न रु ५० लाख, लैङ्गिक समानता तथा नेतृत्व विकास, आदिवासी जनजाति लक्षित दलित लक्षित अपाङ्ग लक्षित विभिन्न किसिमका सीप विकास सहितका बजेट सहितको कार्यक्रम तथा ज्येष्ठ नागरिक लक्षित मिलन चौतारी निर्माण तथा अवलोकन भ्रमणका रु ४१ लाख, बजेटको व्यबस्था गरेको छ ।

एक घर, एक धारा खानेपानीका लागि रु १३ करोड ९३ लाख ८१ हजार ८४६, सामुदायिक विद्यालयमा छात्रा शिक्षा, बालविवाह निरुत्साहन र बचत खाता छोरीको, सुरक्षा जीवन भरीको कार्यक्रमलाई रु ५५ लाख र प्राविधिक शिक्षा, शैक्षिक गुणस्तर अभिवृद्धिसमेत शिक्षामा कूल रु तीन करोड २८ लाख ७० हजारको बजेट विनियोजन गरेको छ । नगरपालिकालाई बालमैत्री स्थानीय शासन नीतिगत तथा घोषणा कार्यान्वयनका लागि रु ९८ लाख ३० हजार, नपाको प्रत्येक घरको मेट्रिक सिस्टम हाउस नम्बरीङ तथा समुदायमा सूचना प्रविधि र १० स्थानमा फ्री वाइफाइको व्यवस्था गरिएको छ । नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयका प्रधानध्यापकलाई शत प्रतिशत भत्तामा वृद्धि गरिएको, सार्वजनिक सहकारी साझेदारीमा उद्यम विकासका लागि रु ६० लाख, सफा चाँगुनारायण बनाउन रु एक करोड १६ लाख, सामुदायिक वनलाई आय आर्जनमा जोड्न रु २० लाख, पूर्ण सरसफाइ उन्मुख नगरपालिका घोषणा गर्न रु ९० लाख बजेट विनियोजन गरेको छ ।

कृषिमा आधारित रोजगार वृद्धिका लागि रु एक करोड ४४ लाख ८४ हजार, चार वटा वडामा कोल्ड चेम्बर्स निर्माण गर्न रु ६० लाख, पशुको नश्ल सुधारमा रु ९६ लाख ५५ हजार बजेट विनियोजन गरिएको छ । कोभिड–१९ बाट बच्नका निःशुल्क पिसिआर परीक्षण, सङ्क्रमितलाई सहयोग, क्वारेन्टिनको व्यवस्थापन गर्न कोभिड नियन्त्रण कोषलाई रु ५० लाख, प्राकृतिक विपत्ती, विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापनमा रु एक करोड ८५ लाखको बजेट रहेको छ । नगरवासीको गुणस्तरीय एवम् पर्याप्त औषधि सहितको न्यूनतम् स्वास्थ्य सेवा उपलब्ध गराउन, विपन्न परिवारलाई नगरपालिकाको साझेदारीमा स्वास्थ्य बीमाको लागि रु एक करोडको बजेट विनियोजन गरेको छ ।

नगरपालिकाअन्तगर्त रहेका सबै कर्मचारीको सङ्घीय सरकार तथा वाग्मती प्रदेशले घोषणा गरेको भन्दा मासिक तलबमा रु दुई हजारले बृद्धि गर्दै, मूल्याङ्नको आधारमा थप प्रोत्साहन गरिने भएको छ । सङ्घीय सरकार, वाग्मती प्रदेश तथा जिल्ला समन्वय समिति तथा अन्य साझेदारबाट सञ्चालन हुने योजनाका लागि समपुरक कोषमा रु सात करोड विनियोजन गरेको छ । नगरसभाका अध्यक्ष एवं नगरप्रमुख सोमप्रसाद मिश्रले बजेटलाई आगामी साउन महिनादेखि नै पूर्णरूपमा कार्यान्वयनमा लैजाने बताउनुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर