विराटनगर २६ भदौ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसले आगामी निर्वाचनमा बहुमत नल्याउने भए गठवन्धन गरेर चुनाव लड्नुको कुनै औचित्य नभएको बताएका छन् ।
कांग्रेसको एकल बहुमत आउन कम्तीमा सय सीटमा उम्मेदवारी दिनुपर्ने बताएका उनले सय सीट नपाए गठवन्धनको औचित्य नहुने बताएका हुन् ।
आइतबार गृह जिल्ला मोरङमा आयोजित कार्यक्रममा सहभागी भएका नेता कोइलाराले गठबन्धनबाट कांग्रेसको एकल बहुमत सुनिश्चित गर्ने भनेकाले सोही अनुसार सीट बाँडफाँटको प्रयास भइरहेको समेत जानकारी दिए ।
‘कांग्रेसले १०० सीटमा उम्मेदवारी दिनुपर्छ । ७० र ८० सिटमा दिएर त बहुमत आउँदैन, ‘हाम्रो बहुमत आउने गरी गठबन्धन गर्ने भन्ने केन्द्रीय समितिको निर्णय हो ।’नेता कोइरालाले भने ।
गएको २०७४ सालमा कांग्रेस एक्लैले जितेका क्षेत्र छाड्न नसकिने बताएका कोइरालाले यो कुरा आफूले माओवादी अध्यक्ष प्रचण्डलाई पनि भनिसकेको पनि बताए ।