बागलुङको पञ्चकोटमा नेपालकै नमूना यज्ञमण्डप बनाइँदै — OSNepal

बागलुङको पञ्चकोटमा नेपालकै नमूना यज्ञमण्डप बनाइँदै

LC (KTM) September 09, 2022 0

बलेवा-बागलुङ नगरपालिका–६ स्थित पञ्चकोटमा पञ्चनारायण मन्दिर परिसरमा नेपालकै एक नमूना यज्ञमण्डप बन्ने भएको छ । धार्मिक तथा पर्यटकीय सो क्षेत्रमा स्वामी कमलनयनाचार्यको अगुवाइमा विभिन्न दाताको सहयोगमा मन्दिर र यज्ञकुण्ड बन्न लागेको हो ।

पशुपति नाथ मन्दिरका ढाँचामा नमूना मण्डप बनाइने लक्ष्य राखिएको बताइएको छ । रु दुई करोड लागतको उक्त कुण्ड बनाउन रु १५ लाख सहयोग गर्नेलाई ‘क’ समूहको दाता, नौ लाख सहयोग गर्नेलाई ‘ख’ समूहको दाता, पाँच लाख सहयोग गर्नेलाई ‘ग’ समूह र तीन लाख सहयोग गर्नेलार्य ‘घ’ समूहको दाताको रुपमा राखिएको छ । साथै एक सय एक जनालाई एक लाख दान गर्ने अबसर दिने व्यवस्था मिलाएको स्वामी कमलनयनाचार्यले जानकारी दिनुभयो ।

बागलुङ नगर प्रमुख वसन्तकुमार श्रेष्ठले धौलागिरि क्षेत्रकै धार्मिक गन्तव्य र पर्यटकीय केन्द्र बन्ने क्रममा रहेकाले सबैको साथ र सहयोगमा पञ्चकोटको निर्माणमा साथ दिनुपर्ने बताउनुभयो । उहाँले सर्वसिद्धिधामको रुपमा विकास भएपछि आउने पर्यटकबाट जिल्लाको समृद्धि सम्भव हुने भन्दै किसानदेखि व्यवसायीले काम गरेर रम्न पाउने व्यवस्था हुने उहाँले बताउनुभयो ।

जैमिनी नगर उपप्रमुख हरिहर शर्माले जिल्लाको पहिचान बनाउन उक्त स्थानमा यज्ञकुण्ड र पञ्चनारायण मन्दिरसँगै रहने गरी बन्नुपर्ने बताउनुभयो । तीन छानाको बन्ने मन्दिरको छाना भने तामाले छाउने व्यवस्था हुनेछ । यो मन्दिर रहेको स्थान सबैतिरबाट देखिने गरी बन्नेछ । हाल नमूना कलश राखिएको स्थानमा मन्दिर बनाउन लागिएको हो । आगामी छदेखि नौ महिनाभित्रै मन्दिर बनिसक्ने लक्ष्य राखिएको पञ्चकोट क्षेत्रका सचिव नारायण शर्माले जानकारी दिनुभयो ।

एक सय आठ फिट अग्लो कलश बनाउने योजनाअनुसार यहाँ पूर्वाधार निर्माणाधीन छ । यो अभियान पूरा गर्न अर्बौं रकम लाग्ने अनुमान छ । पछिल्लो सात वर्षदेखि यहाँ महायज्ञ लगाउने, अन्य अभियान र नगरपालिका, गण्डकी प्रदेश सरकार तथा अन्य सहयोगी हातबाट पञ्चकोटको निर्माण भइरहेको हो । यहाँ निर्माण गर्ने भनिएका पूर्वाधार सम्पन्न हुँदा आर्कषक गन्तव्य बन्ने छ । अग्लो कलशलाई पानीको संरक्षण गर्ने र पानी सभ्यतासँग जोड्ने योजनासमेत बनाइएको स्वामी कमलनयनाचार्यले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर