काठमाडौं २३ भदौ । जनता समाजवादी पार्टी (जसपा) ले गठबन्धनबाट बाहिरिने चेतावनी दिएको छ । आगामी निर्वाचनमा मधेस प्रदेशका ३२ मध्ये कम्तीमा आधा सीट नपाए गठबन्धनबाट बाहिरिने जसपाले चेतावनी दिएको हो ।
बिहिबार वीरगञ्जमा आयोजित एक कार्यक्रममा सहभागी भएका अध्यक्ष उपेन्द्र यादवले गठवन्धनमा सम्मानजनक सीट नपाए एक्लै चुनाव लड्ने भन्दै त्यसको लागि तयारी अवस्थामा रहन कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।
मधेसमा एक्लै लड्दा पनि १२ सीट जित्ने दावी गरेका उनले त्यो भन्दा तल झरेर सीट लिँदा समानुपातिक मत पनि घट्ने र उम्मेदवारका आकांक्षी नेताहरु एमाले तथा अन्य पार्टीमा गएर चुनाव लड्ने खतरा बढ्ने उनले बताए ।
जसपाले मधेस प्रदेशमा कम्तिमा १५ सीट दाबी गरेको छ । त्यस्तै प्रदेश १ को मोरङ, सुनसरी र धनकुटामा एक-एक सीट वागमतीको काठमाडौंमा एक सीट , लुम्बिनीको पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँकेमा एक-एक सीट सजपाले दाबी गरेको छ ।