जनकपुरधाम २३ भदौ । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले गठबन्धन पवित्र हो कि अपवित्र हो भन्ने चुनावपछि मात्रै भन्न सकिने बताएका छन् ।
बिहिबार नेपाल प्रेस युनियन केन्द्रीय समितिले बीपी जयन्तीका अवसरमा आयोजना गरेको विचार गोष्ठीमा सहभागी भएका नेता कोइरालाले यस्तो बताएका हुन् ।
गठबन्धनमा भएका कुनै दलसँग हाम्रो विचार मिल्दैन तर एमालेले संविधान असफल बनाउन खोजेकोले गठबन्धन गर्नुपरेको नेता कोइरालाले बताए ।
‘हामी गठबन्धनमा छौं । गठबन्धन एकदमै विचित्रको छ । हामी प्रजातान्त्रिक विचार राख्छौं । गठबन्धनमा भएका कुनै दलसँग हाम्रो विचार मिल्दैन,सिद्धान्त नमिल्ने दलहरूसँगको गठबन्धन पवित्र हो कि अपवित्र हो । म भन्न सक्दिनँ । चुनावपछि मात्रै भन्न सकिन्छ,’ उनले भने ।
तालमेल कांग्रेसको लागि महत्वपुर्ण होइन कांग्रेसको लागि चुनावमा बहुमत महत्वपूर्ण रहेको बताएका उनले त्यसका लागि कम्तीमा एक सय सीट कांग्रेसले लिनुपर्ने बताए ।
हामी कुनै गुटको राजनीति गर्दैनौं । गुटको राजनीति जतिबेला गर्नुपर्ने हो त्यतिबेला गरौंला, तर, अहिले कांग्रेसलाई चुनाव जिताउनुपर्ने छ । त्यसका लागि चुनाव जित्न सक्ने नेतालाई विनाभेदभाव टिकट दिनुपर्छ । टिकट वितरण न्यायोचित हुनुपर्छ ।’ उनले अघि भने ।