काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले रुखमा भोट हाल्न पाउनुपर्ने भन्दै केन्द्रीय सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।
बिहीबार वाग्मती प्रदेशका १३ जिल्ला सभापतिका तर्फबाट धादिङका सभापति रामनाथ अधिकारीले ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा कांग्रेसका नेता–कार्यकर्ताहरूले रुख चिह्नमा भोट हाल्न पाउनुपर्ने उल्लेख गरिएको अधिकारीले जानकारी दिए ।
प्रत्यक्षमा पनि कम्तीमा एक मत रुखमा हाल्न पाउनुपर्छ भन्ने कांग्रेसका सबै मतदाताको चाहना रहेको भन्दै दोलखा कांग्रेसका जिल्ला सभापति बर्मा लामाले भने,‘सो कुरा प्रत्याभूत हुनेगरी गठबन्धनमा सीटको बाँडफाँट हुनुपर्ने हामीले सभापतिसमक्ष कुरा राख्यौं ।’
देउवालाई ज्ञापनपत्र बुझाउन दोलखाका सभापति लामासहित नुवाकोटका सभापति रमेश महत, काठमाडौंका सभापति कृष्णसुबुज बानियाँ, भक्तपुरका सभापति दुर्लभ थापा, ललितपुरका सभापति जितेन्द्रकुमार श्रेष्ठ, सिन्धुपाल्चोकका सभापति जंगबहादुर तामाङ, काभ्रेका सभापति तीर्थ लामा र धादिङका सभापति रामनाथ अधिकारी सहभागी थिए ।