एक्काइसौँ शताब्दीको नेपाली समाजमा मानिसले मानिसलाई मानिसको जस्तो व्यवहार गर्न नसक्नु दुःखद विडम्बना : विवेकशील साझा युवा संगठन — OSNepal

एक्काइसौँ शताब्दीको नेपाली समाजमा मानिसले मानिसलाई मानिसको जस्तो व्यवहार गर्न नसक्नु दुःखद विडम्बना : विवेकशील साझा युवा संगठन

LC (KTM) June 24, 2021 0

काठमाडौँ १० असार । विवेकशील साझा युवा संगठनले बहुलवादी लोकतान्त्रिक गणतन्त्र अङ्गीकार गरेको एक्काइसौँ शताब्दीको नेपाली समाजमा मानिसले मानिसलाई मानिसको जस्तो व्यवहार गर्न नसक्नु त दुःखद विडम्बना भएको बताएका छन् । आज बिहिबार संगठनका महासचिव सरोज गौतमले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।

‘बहुलवादी लोकतान्त्रिक गणतन्त्र अङ्गीकार गरेको एक्काइसौँ शताब्दीको नेपाली समाजमा मानिसले मानिसलाई मानिसको जस्तो व्यवहार गर्न नसक्नु त दुःखद विडम्बना हो नै तर राज्यले सदियौँदेखि पछि पारिएका समुदायको भर्खर सुनिन थालेको आवाज दबाउने गरी पीडककै पक्षपोषण गरेको दृष्टान्त भयङ्कर लज्जास्पद छ’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

जातलाई कारण देखाउँदै रुपा सुनारलाई कोठा भाडामा नदिने घरबेटीलाई छुटाउन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ नै अग्रसर भएको प्रति संगठनले विरोध जनाउँदै विज्ञप्ती निकालेको हो । ‘प्रहरीले जातीय विभेदका उजुरी नलिने, पीडकलाई नै तथाकथित राजनीतिक दलका अगुवाहरूले मिलापत्र गर्न दबाब दिने र न्यायालय पुगेका मुद्दाहरूलाई समेत ठुलाठालुहरूले प्रभावमा पार्ने घटनालाई मात दिँदै संघीय सरकारको मन्त्रीले न्यायिक निरूपणमा परेका पीडित पक्षलाई आहत हुने गरी गरेका गतिविधि प्रति हामी घोर निन्दा गर्न चाहन्छौँ’ विज्ञप्तीमा जारी गरिएको छ ।

मुलुकको संविधानले सुनिश्चित गरेका समानता, छुवाछुत विरुद्धको हक लगायतका मौलिक हकहरूको पूर्ण कार्यान्वयन गर्न अग्रसरता लिन सरकारसँग संगठनले माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर