खलङ्गा, १० असार- निरन्तर वर्षाले जुम्लाका भेडी गोठालालाई सास्ती भएको छ । गर्मी छल्न पाटन उक्लेका गोठालाहरु निरन्तरको वर्षाले समस्यामा परेका हुन् । भेडाको बथानसँगै पाटन र खर्कहरुमा बसेका गोठालाहरु अहिले विचल्लीमा छन् ।एक सातादेखि निरन्तर पानी पर्दा गोठालालाई भेडाबाख्रा चरन क्षेत्रमा लैजान मुस्किल परेको छ । भोजपत्र, त्रिपाल र ढुङ्गाले छाएको गोठमा बसीरहेका ती गोठालालाई एकातिर चट्याङको र अर्कोतिर भेडाबाख्रालाई भोकै राख्नुपर्ने बाध्यता छ । पाटनमा भरपर्दा गोठहरु नै छैनन् । आफैले बनाएका गोठहरु हावाहुरीले उडाउने खतरा हुन्छ ।यहाँको तातोपानी गाउँपालिका– ७ सर्मीका गोठाला कृष्ण खड्काका अनुसार गत वर्ष यही समयमा पानीको वास्ता नगरी भेडा चराउन हिँडेका एक छिमेकी गोठाला चट्याङको शिकार भए । “कम्तीमा राज्यस्तरबाट पाटन र खर्कहरुमा व्यवस्थित गोठ निर्माण भएको भए ढुक्क सँग बस्न सकिन्थ्यो, २०७२ सालमा पनि १० दिन निरन्तर वर्षा हुँदा हजारौं भेडा मरेका थिए”, उहाँको भनाइ थियो ।
घुमन्ते जीवन विताउने भेडीगोठालाहरु चरण क्षेत्रमा घास सकिएपछि गोठ सार्छन् । अहिले सबै गोठ पाटन उक्लिएका छन् । पाटनकोे चार महिने बसाइपछि वेसी झारिन्छ । जिल्लाका पाँचसय, माझखर्क, सुकदह, सुपाकुना, गाडखर्क, भुरिचुला लगायतका पाटनमा भेडीगोठहरु छन् । जुम्लामा भेडापालनलाई पुख्र्योली पेशाका रुपमा हेरिन्छ । “भेडाबाख्रा बिरामी पर्दा समयमै औषधि पाउँदैनौं, पाटनमा बस्न व्यवस्थित गोठ छैनन्, कृषि र पशुपालनका क्षेत्रमा आउने बजेट कहाँ चुहावट हुन्छ, पत्तो हुँदैन”, अर्का भेडीगोठाला जय बहादुर रावतले दुखोसो पोख्नुभयो ।
जुम्लामा ७४ हजार हाराहारीमा भेडा रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्दबहादुर महतले बताउनुभयो । “आम्दानी राम्रो छ, भेडाको सङ्ख्या बढिरहेको छ”, कार्यालय प्रमुख महतले भन्नुभयो । चर्को घाममा हिमाली क्षेत्रको शीतल हावा र चिसो पानीले भेडा स्वस्थ्य र पुष्ट हुने उहाँको दावी छ । कर्णाली प्रदेशले यो वर्षदेखि ५० बढी भेडाबाख्रा भएका किसानलाई मासिक ५ सय गोठालो भत्ता दिने भएपछि गोठालाहरु खुसी भएका छन् । अव तिनै तहका सरकारले पाटन र खर्कहरुमा व्यवस्थित गोठ निर्माण गर्नुपर्ने भेडीगोठालाहरुको माग छ ।
भेडा हिउँदमा बेँसीका फाँट र गर्मी याममा हिमालको काखका बुकीमा पुग्छन् । गाडखर्क, भुईसी, भुरिचुला, ठाडिपाटन, लामा डाँडा, सिमलाग्न, शुकदह जस्ता पाटनका बुकी हुँदै जाजरकोटको सिमानामा पर्ने डुईसिले लेकसम्म भेडाबाख्रा चराउन लगिन्छ ।भेडाको दूध, मकैको आँटो, ढिडो, जङ्गलमा पाइने च्याउ, निगालाका टुसा, निउरोको तरकारी उनीहरुको दैनिक भोजन हो । भेडाको ऊनले बुनेको राडी पाखी ओड्ने, ओछ्याउने गरिन्छ । हिमपात भएको बेला न्यानो बनाउन ठूला मुडा जोडेर गोठमा आगो बाल्छन् । छिटो छिटो सार्नु पर्ने भएकाले गोठ व्यवस्थित नहुने कार्यालय प्रमुख महतको भनाइ छ । (रासस )