देशमा बलियो हिन्दूवादी शक्ति बन्न नदिन देशीविदेशी शक्तिहरुको सुनियोजित षड्यन्त्र भयो । अब भ्रष्ट प्रवृत्ति र शक्तिका पुजारीहरुको भण्डाफोर गर्नेछौँ ।
काठमाडौं २१ भदौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको फैसला शिरोधार्य भएको बताएका छन् ।
गाई चिन्ह नदिने निर्वाचन आयोगको निर्णय सदरगर्ने सर्वोच्च अदालतको फैसला दुर्भाग्यपूर्ण भएको भन्दै अध्यक्ष थापाले चुनाव चिन्ह रोज्नपाउने दलको सार्वभौम र कानुनी अधिकार कुण्ठित भएको टिप्पणी गरेका छन् ।
चलखेल,दवाव र ‘सेटिङ ‘ले कसरी संवैधानिक अंगहरुलाई प्रभावित गर्छ भन्ने ज्वलन्त उदाहरण सर्वोच्चको यो फैसला ज्वलन्त उदाहरण भएको उनको दावी रहेको छ ।
आज मंगलबार न्यायाधीश कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासले थापालाई गाई चिन्ह नदिने निर्वाचन आयोगको निर्णय सदर गरेको हो ।
‘यस निणर्यबाट आफ्नो पार्टी कति पनि हतोत्साहित वा विचलित नभएको भन्दै उनले अदालत, संवैधानिक अंग र राज्यव्यवस्थामा रहेका यस्ता विकृतिका पर्खालहरु भत्काएर अझ उच्च मनोबल, दृढता र सक्रियताका साथ अघि बढ्ने छौँ।भ्रष्ट प्रवृत्ति र शक्तिका पुजारीहरुको भण्डाफोर गर्नेछौँ ‘ उनले भनेका छन् ।
देशमा एउटा बलियो राष्ट्रवादी हिन्दूवादी शक्ति बन्न नदिन तथा सनातन धर्म संस्कृति र परम्परा कमजोर बनाउन भैरहेको देशीविदेशी शक्तिहरुको सुनियोजित षड्यन्त्र अन्तर्गत भएको उनको ठम्र्याइ रहेको छ ।
जसको कडी हो राप्रपा नेपाललाई गाई नदिने निर्णय भन्दै थापाले भ्रष्ट प्रवृत्ति र शक्तिका पुजारीहरुको भण्डाफोर गर्ने समेत बताएका छन् ।