काठमाडौं- अभिनेत्री तथा मोडल निशा घिमिरेको स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुँदै गएको निशाले संकेत दिन थालेको र आफूहरुले बोलेका कुरा बुझेजस्तो गरी अनुहार र आँखाको हाउभाउबाट प्रतिक्रिया समेत दिने गरेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । मंगलवारबाट चिकित्सकले उनलाई ह्वीलचेयरमा बसाउन समेत सुरु गरेका छन् । यद्यपी निशा सामान्य अवस्थामा फर्किने सम्भावना भने न्यून रहेको चिकित्सकले बताएका छन् ।
सवारी दुर्घटनामा परेर तीन वर्षदेखि अर्धचेत अवस्थामा रहेकी उनको नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले जेठ २७ गते उद्धार गरेर उपचार सुरु गरेकी थिइन् । हाल नर्भिक अस्पतालले उनलाई विशेष उपचार कक्षमा राखेर उपचार गरिरहेको छ । उपचार पाएको भाली पल्टै उनको मुहारमा खुसीको चमक देखिएको थियो । उपचारपछि उनको शरीरका घाउहरु निको हुन थालेको अस्पतालले जनाएको छ ।