मनसुनी वर्षा मध्य र पश्चिम भेगतिर सक्रिय, तत्काल रोकिएला ? यसो भन्छन् मौसमविद् ! — OSNepal

मनसुनी वर्षा मध्य र पश्चिम भेगतिर सक्रिय, तत्काल रोकिएला ? यसो भन्छन् मौसमविद् !

LC (KTM) June 24, 2021 0

काठमाडौँ, लगातारको मनसुनी वर्षा फेरि नेपालको मध्य र पश्चिम भेगमा केन्द्रित भएको छ । जेठ २८ गतेबाट सुरु भएको मनसुनी वर्षाले निरन्तरता लिँदै बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आफ्नो चक्र दोहो-याएको हो । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ।

मङ्गलबार रातिदेखि यी क्षेत्रमा मध्यमदेखि भारी वर्षा सुरु भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस भेगमा वर्षाको क्रम दोहोरिएसँगै बाढी पहिरोको सम्भावना बढेको छ । यसका कारण पहाडी भूभाग र तटीय क्षेत्रका बासिन्दामा त्रास पैदा हुन थालेको छ ।

पूर्वी भेग हुँदै मनसुन भित्रिए पनि मध्य र पश्चिमका प्रदेशमा यसअघिको एक सातामा अधिक स्तरसम्मको वर्षा भएको थियो । अझ यो क्रम केही दिन जारी रहने मौसमविद् बरुण पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहान आकाश खुलेजस्तो भए पनि दिन ढल्दै जाँदा बादलले आकाश ढाकेर पानी पार्ने गरेको छ । बिहीबार बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश १ का केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यस्तै शुक्रबार प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही भेगमा भारी वर्षा र लुम्बिनी, गण्डकी प्रदेशमा मध्यम र हल्का वर्षाको आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । मध्य, पश्चिम र पूर्वका केही भेगमा केन्द्रित मनसुनी बादलका कारण हुने वर्षाले यस भेगका ठूला तथा साना नदीमा बाढी आउने भएको छ ।

न्काई, कोसी, कमला, बागमती जलाधार क्षेत्रका नदीहरूमा आकस्मिक बाढी र बहाव बढ्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर