काठमाडौं १९ भदौ । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महत विजयकुमार गच्छदार , अफताब आलमको बचाउमा उत्रिएका छन् ।
गच्छदार सुनसरी गच्छदारको नाम सुनसरी क्षेत्र न ३ बाट सर्वसम्मत रुपमा उम्मेदवारमा सिफारिस भएपछि चौतर्फी यस विषयलाई लिएर टिका टिप्पणी भएपछि पार्टी प्रवक्ता महतले बालुवाटारको जग्गा प्रकरणमा विजयकुमार गच्छदार निर्दोष रहेको दाबी गरेका हुन् ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले तत्कालीन मन्त्रिपरिषद्ले गरेको निर्णयमा गच्छदारभन्दा पनि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल जिम्मेवार हुने बताए ।
महतले नेपाल तिर औंला उठाउँदै प्रधानमन्त्रीले नभनी मन्त्रिपरिषद्को निर्णय नहुने भन्दै गच्छदार निर्दोष भएको जिकिर गरे ।
महतले भने, ‘विजय गच्छदार निर्दोष हुनुहुन्छ, त्यो मन्त्रीस्तरीय निर्णय होइन । मन्त्रिपरिषद्ले गरेको निर्णय हो र उहाँले प्रधानमन्त्रीको निर्देशन मानेको मात्र हो बालुवाटारको प्रधानमन्त्री निवासको जग्गा सरकारले लिने विषयमा त्यो प्रस्ताव लैजानुभएको हो । माधव नेपाल प्रधानमन्त्री हुनुहुन्थ्यो, प्रधानमन्त्रीले नभनी मन्त्रिपरिषद्को निर्णय हुँदैन ।’
सम्मेलनमा उनले गच्छदारलाई आरोप लगाइए पनि प्रमाणित नभएकाले भ्रष्टचार भन्न नमिल्ने बताए । साथै उनले अफताब आलमको हकमा पनि आरोपमात्र लागेको र फैसला नभइसकेकाले कार्यकर्ताको सिफारिस रोक्न नमिल्ने बताए ।