नवौँ राष्ट्रिय खेलकुद : कराँते र बुद्धिचालका खेलाडी छनोट — OSNepal

नवौँ राष्ट्रिय खेलकुद : कराँते र बुद्धिचालका खेलाडी छनोट

LC (KTM) September 03, 2022 0

कास्की-आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशबाट ‘फुल कन्ट्र्याक्ट’ कराँतेतर्फ पुरुषतर्फ सात र महिलातर्फ पाँच खेलाडी छनोट भएका छन् ।प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा यही भदौ १५ देखि सञ्चालन भएर आज सम्पन्न भएको भएको प्रदेशस्तरीय कराँते छनोट प्रतियोगिताबाट राष्ट्रिय खेलकुदका खेलाडी छनोट गरिएको हो ।कराँतेमा छनोट हुन सफल खेलाडीमा पुरूषतर्फ ४० केजी तौल समूहमा कास्कीका अभिषेक तामाङ, ४५ केजीमा बागलुङका नारायण विक र ५० केजीमा कास्कीका अनिष बुढा मगर हुनुहुन्छ ।

यसैगरी ५५ केजीमा पर्वतका पासाङ तामाङ, ६० केजीमा कास्कीका मोशेस कुमाल र ६५ केजीमा कास्कीका शिव भुजेल र खुला तौल समूहमा कास्कीका रूपक नेपाली छनोटमा पर्न सफल हुनुभयो ।यसैगरी महिलातर्फ ४० केजी तौल समूहमा स्याङ्जाका पुष्प कुँवर, ४५ केजीमा कास्कीका मेनुका अधिकारी, ५० केजीमा कास्कीका सरगम कुमाल, ५५ केजीमा तनहुँकी धनी रानामगर र खुला तौल समूहमा कास्कीका मेरिना गुरूङ छनोटमा पर्न सफल हुनुभयो ।

‘फुल कन्ट्याक्ट’ कराँतेका लागि संयोजकको जिम्मेवारी शिव गुरुङ र प्रशिक्षकको जिम्मेवारी सुवास खड्कालाई दिइएको थियो । प्रदेस्तीय कन्ट्याक्ट कराँते छनोट प्रतियोगिता प्रदेशका मनाङ र मुस्ताङबाहेक नौ जिल्लाका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । छनोट भएका खेलाडी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी बन्नेछन् । छनोट भएका खेलाडीका लागि केही दिनपछि बन्द प्रशिक्षण सञ्चालन गरिने प्रशिक्षक खड्काले बताउनुभयो ।

बुद्धिचाल प्रतियोगितामा पूजा र सविन प्रथम
यसैगरी गण्डकी प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगितामा पुरुषतर्फ लमजुङका सविनचन्द्र घिमिरे र महिलातर्फ कास्कीका पूजा भण्डारी प्रथम हुन सफल हुनुभएको छ ।
पुरुषतर्फ कूल पाँच राउण्डमध्ये चार राउण्डमा जीत र एक राउण्डमा बराबरी गर्दै साढे चार अङ्का साथ घिमिरे पहिलो बन्न सफल हुनुभयो । मुस्ताङका राजन पहाडी द्वितीय र बागलुङका लेखबहादुर थापाले तृतीय स्थान हासिल गर्न सफल हुनुभयो । पुरुषतर्फ २३ जना प्रतियोगीले भाग लिएका थिए ।

महिलातर्फ कास्कीका भण्डारीले पाँच राउण्ड खेलमा पाँचवटै खेल जित्दै प्रथम हुन सफल हुनुभयो । लमजुङका स्तुति खवास द्वितीय र बागलुङका झरना थापा तृतीय हुनुभयो । महिलातर्फ १३ जना खेलाडीले नाम दर्ता गराए पनि १२ जना खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

बुद्धिचालमा कास्की, तनहुँ, बागलुङ, लमजुङ, मुस्ताङ, पर्वत, स्याङ्जा र नवलपुर जिल्लाले सहभागिता जनाएका थिए । नवौँका लागि बुद्धिचाल प्रतियोगिताको संयोजकको जिम्मेवारी ओमप्रसाद उपाध्याय र प्रशिक्षकको जिम्मेवारी शुक्रप्रसाद प्रधानलाई दिइएको थियो । छनोट हुन सफल खेलाडीका लागि बन्द प्रशिक्षण सञ्चालन गरिने प्रदेश खेलकुद परिषद्ले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर