काठमाडौं, १७ भदौ –
साउदी अरबको पूर्वी क्षेत्रमा रहेका नेपाली कामदारको समस्या समाधानका लागि थप एकजना कर्मचारी खटाइने भएको छ ।साउदीको रियादस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।
साउदीमा रहेका नेपाली कामदारको संख्या मध्ये पूर्वी क्षेत्र दमाम, जुवेल, खब्जी, खोबर, कतिफ, अलहासामा मात्रै झण्डै आधाजसो नेपाली कामदारहरू रहेका छन् ।‘तसर्थ, आगामी १ कार्तिक २०७९ देखि साउदी अरबको पूर्वी क्षेत्रमा रहेका नेपाली कामदारको समस्या समाधानको लागि थप एकजना कर्मचारी खटाइने व्यहोरा जानकारी गराइन्छ । कार्तिक १ गते उप्रान्त पूर्वी क्षेत्रमा दूतावासका २ जना कर्मचारीहरू रहनेछन्,’ दूतावासले जनाएको छ ।
सोपश्चात् पूर्वी क्षेत्रमा रहेका नेपाली कामदारको समस्या समाधानमा थप सहजता आउने अपेक्षा दूतावासले गरेको छ ।पूर्वी क्षेत्रमा रहेको नेपाली कामदारहरूको संख्या र समस्यालाई मध्यनजर गरेर दूतावासले पूर्वी क्षेत्रको लागि विगत लामोअवधि देखि छुट्टै एकजना कर्मचारी खटाउँदै आएको थियो ।
पूर्वी क्षेत्रमा अर्को एकजना कर्मचारी व्यवस्था गर्नका लागि राजदूतावासले धेरै अघिदेखि प्रयास गरिरहेको थियो । परिणामस्वरुप वैदेशिक रोजगार बोर्डको सचिवालयबाट दूतावासको लागि थप एकजना कर्मचारीको व्यवस्था गर्ने भएपछि दूतावासले उक्त घोषणा गरेको हो ।