काठमाडौं १७ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा संघ र प्रदेशको निर्वाचन क्षेत्र तोकेरै सिट बाँडफाँट हुने स्पष्ट पारेका छन् ।
शुक्रबार सुर्खेतमा आयोजित एक कार्यक्रममा सिट बाँडफाँटको विषयमा बाहिर चर्चा भएजस्तो गठबन्धनभित्र कुनै असहमति नभएको जिकिर गरेका उनले प्रदेश र क्षेत्रसहित एकैपटक टुंगो लगाउने एक खालको सहमति भइसकेको बताए ।
‘असहमति भन्ने छैन । त्यसलाई प्रभावकारी कसरी बनाउने भन्नेतिर नै छलफल केन्द्रित छ,’ प्रचण्डले भने ।
गठबन्धनमा सिट संख्या सहमतिको नजिक पुर्याएको र अब एकैपटक प्रदेश र क्षेत्रको पनि टुंग्याउने गरी आज दिनभरी छलफल हुने अध्यक्ष प्रचण्डले बताए ।
‘आजको छलफल सकिएपछि भोलिसम्म बसेर क्षेत्र र प्रदेश समेत सबै कुरालाई समग्रमा टुंग्याउने सहमति गरेका छौं’ प्रचण्डले भने ।
साथै सो कार्यक्रममा आगामी निर्वाचनमा आफू चितवन–३ बाटै चुनाव लड्ने र नेकपा एकीकृत समाजवादीसँग एकताको प्रयास भइरहेको समेत बताए ।