काठमाडौं १३ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त्रिभुवन विश्वविद्यालयमा विद्यार्थी संगठन नेविसंघले गरिरहेको तालाबन्दीलगायत कार्यप्रति सरकारको ध्यानाकषर्ण गराएको छ ।
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस निकट नेविसंघले गरिरहेका क्रियाकलापमा सरकारको संरक्षण रहेको भन्दै एमालेले आपत्ती जनाएको हो । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा एमाले सांसद प्रदीप ज्ञवालीले सरकारको संरक्षणमा नेविसघले गर्दै आएको क्रियाकलाप बन्द गर्नुपर्ने बताएका हुन् ।
‘हिजो विद्यार्थी संगठनको नेतृत्व गरेका व्यक्तिहरू आज देशको सर्वोच्च पदमा पुग्नुभएको छ । विश्वविद्यालयका प्राध्यापकहरूलाई कुट्ने, तिमीहरूलाई केही भयो भने प्रहरीबाट सुरक्षा दिन्छौं । मुद्दा चलायो भने महान्यायाधिवक्ता कार्यालयबाट मुद्दा फिर्ता लिन्छौं भन्ने शिक्षा दिनुभएको हो ।अहिलेका प्रधानमन्त्री र गृहमन्त्री कुनै समयमा विद्यार्थीको नेतृत्व तहमा हुनुहुन्थ्योस त्यतिबेला पञ्चायतको मण्डलेहरूको कुटाइ खानुभएको थियो होला । अहिले त्यस्तै व्यवहार गरिरहनुभएको छ । के मौका नपाएर मात्रै मण्डले नभएको हो ? यो त होइन होला ‘ ज्ञवालीले भने ।
कुलपति समेत रहेका प्रधानमन्त्रीलाई यस विषयले कति पनि नपोलेको भन्दै सांसद ज्ञवालीले सरकार संरक्षित गुन्डागर्दीबाट विश्वविद्यालय कुन अवस्थामा पुग्छ भन्दै प्रश्न गरेका छन् ।
गएको तिन वर्षमा ३०० दिन तालाबन्दी गर्ने र प्राध्यापकमाथि आक्रमण गर्नेहरूलाई सरकारले संरक्षण दिइरहेको आरोप लगाएका ज्ञवालीले प्राध्यापकमाथि आक्रमण भइसकेपछि, चलाएको मुद्दा फिर्ता लिने भएपछि कसरी विश्वविद्यालय खुल्न भन्दै देउवालाई प्रश्न गरे ।