काठमाडौं –
फिल्म ‘प्रकाश’ को क्यूएफएक्स च्यानलले शो बढाएको छ ।क्यूएफएक्सले ‘प्रकाश’ को शुक्रबार ८० प्रतिशत हाराहारीमा अकुपेन्सी भएको भन्दै शनिबारका लागि शो बढाएको हो । देशभरका हलहरुमा शुक्रबारका लागि १३ शो पाएको फिल्मलाई क्यूएफएक्सले शनिबारका लागि २६ शो दिएको छ ।
जसमा काठमाडौं उपत्यका भित्र १३ शो र काठमाडौं उपत्यका बाहिर १३ शो विभाजन गरिएको छ । प्रिमियरमा निकै प्रशंसा पाएको फिल्मले दर्शकबाट पनि उत्साहजनक प्रतिक्रिया पाएको छ ।
शुक्रबार फिल्मलाई न्युन शो दिएको कारण कलाकार प्रदीप खड्काले एक कार्यक्रम गर्दै काठमाडौंका ९ वटा एलइडीमा फिल्म प्रदर्शन गर्ने चेतावनी समेत दिएका थिए ।फिल्ममा प्रदीप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय छ ।
दोस्रो दिनका लागि ‘प्रकाश’को शो ठूलो संख्यामा बढ्नुमा प्रदीपको आक्रोशसँगै ‘लाइगर’को कमजोर रेटिङले काम गरेको देखिन्छ । ‘लाइगर’लाई भारतीय समीक्षकहरुले दयनीय रेटिङ दिएका छन् । जसको असर नेपाली बक्सअफिसमा पनि परेको छ ।