काठमाडौं १२ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकलाई लिएर एमाले प्रति भ्रम छर्न खाजेको आरोप लगाएका छन् ।
आइतबार पार्टी कार्यालय च्यासलमा बसेको निर्वाचन परिचालन कमिटीको पहिलो बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
मधेसलगायतका क्षेत्रमा नागरिकताका विषयमा एमालेप्रति गठबन्धन दलले भ्रम सिर्जना गर्न खोजिको आरोप लगाएका ओलीले जन्मसिद्धका आधारमा नागरिकता दिनुपर्नेमा एमालेको कुनै आपत्ती नभएको प्रष्ट पारे ।
गठबन्धनको ध्यान सरकारमा बसेर देशलाई लुट्ने र सत्ताको दुरुपयोग गरेर निर्वाचन जित्नेमा मात्रै केन्द्रित भएकाले यस अघि आफ्नो सरकारले गरेको कामबारे जनतालाई जानकारी गराउनुपर्ने बताए ।
‘अहिले सत्ता गठबन्धनको ध्यान सरकारमा बसेर देशलाई लुट्ने र सत्ताको दुरुपयोग गरेर निर्वाचन जित्नेमा मात्रै केन्द्रित छ । यसअघि हामीले अघि सारेका राम्रा कामलाई रोक्ने मात्र काम गरेको छ । त्यसैले हामीले गरेका कामबारे जनतालाई जानकारी गराउनुपर्छ’, ओलीले भने ।
मुलुकमा देखिएको आर्थिकलगायतका समस्याहरू समाधान गर्न एमाले सरकारमा आउनैपर्ने ओलीले बताए ।