काठमाडौं १२ भदौ । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले नेपाली राजनीतिमा आफूहरु अरुभन्दा भिन्न रहेको दावी गरेका छन् ।
आफ्नो पार्टी गरिब र शोषितको पक्षमा संघर्ष गर्न स्थापना भएको दावी गरेका उनले आइतबार पार्टी निकट अनेरास्ववियूको केन्द्रीय कमिटीको पहिलो विस्तारित बैठकमा कुनै पनि कम्युनिष्ट पार्टीले गरिब र सर्वहारा वर्गको हित गर्नुपर्ने बताए ।
समाजमा विभिन्न वर्ग रहेको भन्दै समाजका शोषित जनताको पक्षमा, अन्याय, अत्याचार र थिचोमिचोमा परेका जनताको पक्षमा लड्न सर्वहारा वर्गीय दृष्टिकोण लिएर आफुहरु आएको दावी गरे ।
हामी अरु जस्तै होइनौं ।’हामी समाजका शोषित जनताको पक्षमा, अन्याय, अत्याचार र थिचोमिचोमा परेका जनताको पक्षमा लड्न सर्वहारा वर्गीय दृष्टिकोण लिएर आएका हौं ।’ उनले भने ।
जनताको हितको रक्षा गर्ने योद्धाहरु आफुहरु भएको दावी गरेका उनले देशको रक्षा गर्ने र जनताको हितप्रति समर्पित हुने योद्धाको रुपमा हाम्रो भूमिका नेपाली समाजले स्वीकारेको जिकिर गरे ।
‘हामी अरुभन्दा भिन्न हौं । हामी क्रान्तिकारी हौं । परिवर्तनकामी हौ । जनताको हितको रक्षा गर्ने योद्धाहरु हौं । ‘ नेपालले अघि भने ।