काठमाडौं १० भदौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललेपार्टी पुनर्गठनको औचित्य एक वर्ष मै पुष्टि भएको बताएका छन् ।
संविधान, लोकतन्त्र र संघीयताको रक्षा अनि एकलौटी, व्यक्तिवाद र निरंकुशताविरुद्ध आफुहरुले विद्रोह गरेकाले एक वर्षभित्रै औचित्य पुष्टि भएको दावी गरेका हुन् ।
‘७५ प्रतिशत पालिकामा कमिटी बनाएका छौं । कमिटीमा १ लाख ३० हजार संगठित छन् । २७ प्रतिशत उम्मेदवारी खडा गर्दा ९ लाख २७ हजार मत पायौं । एक वर्षमा यतिको संगठन विस्तार कसले गर्न सक्थ्यो ? पोखरा र हेटौंडामा जितको झन्डा फहरायौं । तर यो भन्दा बढी आशा गर्नु पनि बेठिक होइन,’ नेपालले भने ।
एक कार्यक्रममा सहभागी भएका अध्यक्ष नेपालले सय सिटको दाबी गर्नु नेपाली कांग्रेसको अहंकार भएको समेत गरेका छन् । आफुहरुले गठवन्धन गर्ने भनेका हौं घुँडा टेक्ने भनेको होइन भनेका नेपालले कांग्रेसले सय सिट दाबी गरे कुुनै पनि हालतमा नमान्ने बताएका छन् ।
‘हामीले गठबन्धन गर्ने भनेको घुँडा टेक्ने भनेको होइन । विन–विन सिचुएसनमा पो गठबन्धन हुन्छ । कांग्रेसले सय सिट दाबी गरेर कसले मान्छ रु कांग्रेसले १६५ नै लिए भैहाल्यो नि ।’ उनले अघि भनेका छन् ।
कांग्रेसमा केपी ओलीको रोग सरेको टिप्पणी गरेका उनले भने,’कांग्रेसका नेताहरु एक्लै उठेर जितून् न त । नेपाली कांग्रेसको यस्तो रवैया भयो भने गठबन्धन गर्न गाह्रो हुन्छ ।’