काठमाडौं १० भदौ । नेपाली कांग्रेसले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फका उम्मेदवारको सिफारिस गर्न मापदण्डसहित मातहत कार्य समितिहरुलाई निर्देशन पठाएको छ ।
प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारका लागि भदौ १६ गतेभित्र जिल्ला कार्य समितिमा सिफारिस गर्न भन्दै उक्त निर्देशनमा कम्तिमा एक महिलासहित बढीमा दुईजनाको नाम प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारको छनोट गर्नुपर्ने बताएको छ ।
महामन्त्री गगन थापाको हस्ताक्षर रहेको सो निर्देशनमा सिफारिस गर्ने बैठकमा सहमति हुन नसकेमा बहुमतबाट निर्णय गर्न बताइएको छ ।
साथै, एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको हकमा भने भदौ १८ गते भित्र उम्मेदवारको नाम कार्य समितिमा पठाउन निर्देशन दिइएको छ ।
प्रदेश कार्य समितिले भदौ २० गते भित्र आफ्नो राय समेत समावेश गरी केन्द्रमा पठाउनुपर्ने छ ।