काठमाडौं ९ भदौ । सत्तारुढ गठबन्धन दलको आज बसेको बैठकले सिट बाँडफाँटको लागि गठित कार्यदललाई देशका सबै १ सय ६५ निर्वाचन क्षेत्रकै अवस्था अध्ययन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कार्यदल सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सबै निर्वाचन क्षेत्रको अध्ययन गरी प्रतिवेदन बुझाउन गठित कार्यदललाई निर्देशन दिएको जानकारी गराए । अब अर्को गठवन्धनको बैठक अहिले अपरान्ह्र चार बजे बस्ने भएको छ ।
शीर्ष नेताको बैठकले फेरि कार्यदललाई नै काम गर्ने गरी निर्देशन दिएको छ । मंसिर ४ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन गर्ने सहमति गरे पनि सत्तारुढ काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबीच सिट बाँडफाँट जटिल बन्दै गएको छ ।