काठमाडौं ८ भदौ । धरानका मेयर हर्क साम्पाङले स्कुल पढ्ने विद्यार्थीलाई अनिवार्य श्रम गराउने निणर्य गरेसँगै चौतर्फी आलोचना भएपनि उनले स्पष्टीकरण दिँदै विद्यार्थीहरुलाई माटो चिनाउन खोजेको बताएका छन् ।
श्रम नगर्ने विद्यार्थीलाई परीक्षामा पास नै नगराउने नियम लागू गर्ने घोषणा गरेका साम्पाङको निणर्य कानूनविपरीत भएको भन्दै आलोचना भइरहँदा उनले लाइभमा नै आएर आफु एकदमै श्रमको महत्व बुझेको मान्छे भएकाले किताबी ज्ञानले मात्रै विद्यार्थीहरु पूर्ण नहुने भन्दै उनले सानातिना श्रमका कामहरुमा संलग्न गराएर उनीहरुको क्षमता विकास गर्न सकिनेमा बताए ।
‘म एकदमै श्रमको महत्व बुझेको मान्छे हुँ । हाम्रो देश बनाउनु छ भने सबैले श्रम गर्नुपर्छ । श्रम भन्नेबित्तिकै मानसिक मात्र होइन, शारीरिक श्रम पनि हो । हामीले धुस्रै–फुस्रै भएर काम गर्नुपर्छ, अनिमात्र देश बन्छ भने भनेर लागिरहेको छु । नेपालको इतिहासमै एउटा जनप्रतिनिधिले आफैं खटेर काम गरेको र जनतालाई प्रेरित गरेर श्रमदान गर्न लगाएको भनेर मैले भनिराखेको कुरा होइन ।’उनले भनेका छन् ।
धरानमा जति पनि सञ्चालित विद्यालयहरु छन्, उनीहरुमा अध्ययनरत कक्षा ९, १०, ११, १२ का विद्यार्थीहरुलाई श्रम गराउने कुरा आफुले गरेको बताएका उनले आफुले दिनदिनै, हप्तैपिच्छे वा महिनैपिच्छे श्रम गराउने भनेको नभई विद्यार्थीलाई यो देशको माटोसँग जोड्न चाहेको बताए ।
‘म विद्यार्थीलाई यो देशको माटोसँग जोड्न चाहन्छु । यो देशको माटो छुन प्रेरित गर्न चाहन्छु । पढेर मात्रै हुँदैन । कुर्सीमा बसेर सुकिलो मुकिलो भएर मात्रै देश बन्दैन । आज आलु, प्याजदेखि लिएर लसुन लगायत सानातिना कुराहरु करोडौं, अरबौं, खरबौं भारतबाट आयात गरेर खानु परिरहेको छ । पढेलेखेको मान्छेले धुलो, हिलो, माटो छुनु नहुने सोचिरहेका छौं । त्यो गलत हो ।’ उनले भनेका छन् ।
उनले भनेका छन् , ‘मैले के भन्न खोज्दैछु भने हाम्रो कृषिप्रधान देश भनिन्छ, तर खोइ कृषि गरेको रु जग्गा बेचेर घर मात्रै बनाउने ? एउटा खुर्सानी फलाउन सक्दैनौं । एउटा सानो कुरा बनाउन आउँदैन । मकै देखेको छैनन् अहिलेका विद्यार्थीले । धानको विरुवा देखेको छैन । कोदोको विरुवा देखेको छैन । नयाँ पिँढीले के खाएर बाँच्ने ? खरबौंको अनाज, फलफुल भित्र्याउनुको साटो पाखाभित्तामा विद्यार्थी पनि आएर विरुवा पनि रोप्दा के हुन्छ ?
दुई–चार जना भनिरहेका छन्, बालबालिकालाई यतायता गराउने ? त्यस्तो भनेको होइन मैले । श्रम चिनाउनुपर्छ र श्रमको महत्व बुझाउनुपर्छ । त्यो बुझेन भने मान्छे अल्छी हुन्छन् । भोलिका दिनमा विकराल अवस्था हुन्छ । विरोधिले विरोध गरिराख्नुस । तपाईंहरुको विरोधले मलाई केही हुनेवाला छैन । यस्तो विरोध त मैले कति खाएँ । ठाडो खाएर तेर्सो हगेको हो तपाईंहरुजस्ता मान्छेहरुलाई । यसोभन्दा ट्रोल हुने होला, भइराखोस् ।
१० वर्ष एक्लै–एक्लै आन्दोलन गरेँ । यस्ता झ्यासलाई टेर्छु म ? टेर्दिनँ । विरोधीले विरोध गर्दै गर्नुस् । समर्थक बढिरहेकै छन् । पहिले विरोध गर्नेहरू अहिले छेउछेउमा से्ल्फी खिच्न आउँछन् ।