चितवन ८ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक राष्ट्रघाती भन्नेहरुलाई पाखण्डीको संज्ञा दिएका छन् ।
बुधबार गृहजिल्ला पुगेका अध्यक्ष प्रचण्डले भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमालेलाई लक्षित गर्दै नेपाली आमाबाबुका सन्तानलाई नागरिकता दिन विधेयक ल्याउँदा राष्ट्रघाती भन्नु पाखण्डबाहेक केही हुन नसक्ने टिप्पणी गरेका हुन् ।
‘आमाबुबा दुवै नेपाली नागरिक भएकाका छोराछोरीले नागरिकता पाउने कुरा मात्रै हो अहिलेको विधेयकको सारतत्व । आमाबाबु नेपाल नागरिक छन् । तिनका छोराछोरीले नागरिकता नपाएर झण्डै ६र७ लाख मानिसहरु सबै अवसरबाट बञ्चित हुने परिस्थिति भयो । त्यो स्थितिको अन्त्य गर्ने विधेयक हो । त्यसकारण यसलाई राष्ट्रघाती भन्नु नै पाखण्डबाहेक केही पनि हुँदैन’, प्रचण्डले भने ।
यही विधेयक ओली प्रधानमन्त्री हुँदा अध्यादेशमा लगिएको बताएका प्रचण्डले ती मान्छेहरु जसले यही विधेयक अध्यादेशका रुमा लगेका थिए । अहिले , तिनीहरुले यही विधेयक संसदमा ल्याउँदा राष्ट्रघाती भन्नुभन्दा बेइमानी र अनैतिकता अरु केही हुन नसक्ने बताए ।
सात वर्षीय वैवाहिक अंगीकृतको प्रावधानसहित राज्य व्यवस्था समितिले पारित गरेको प्रस्ताव संसदमा लैजान खोज्दा त्यति बेला ओली नै नमानेको दावी गरेका प्रचण्डले भने, ‘अनि अध्यादेशबाट लाने पनि केपी ओली नै हो ।’