काठमाडौं ७ भदौ । कानून न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले माओवादी सशस्त्र जनयुद्धकै कारण मुलुकमा गणतन्त्र आएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभामा सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक प्रस्तुत गर्नुअघि मन्त्री कोइरालाले नेमकिपा सांसद प्रेम सुवालले उठाएका प्रश्नको जवाफ दिने क्रममा माओवादी सशस्त्र जनयुद्धकै कारण मुलुकमा गणतन्त्र आएको तथा संविधानसभाबाट नयाँ संविधान जारी भएको बताएका हुन् ।
कुकुरको पूजा गर्ने तर, मानिसले छोएको खान नहुने समाजलाई माओवादी जनयुद्धले परिवर्तन गरेको नबिर्सन भन्दै मन्त्री शर्माले समाजमा असमानता थियो । विभिन्न समुदायमा भाषाका कारणबाट, भौगोलिक कारणबाट, लिङ्गको कारणबाट समाजमा यति चरम विकृति विसंगति लाई माओवादीको जनयुद्धले परिर्वतन गरेको उनले बताए ।
उनले अघि भने , ‘ शान्ति सम्झौता भयो र हामीसँग संविधान आयो । माननीय ज्यूले सोध्नुभएको प्रश्नको जवाफ नेपालको संविधानको प्रस्तावनामै उल्लेख छ । त्यसकारण युद्ध केका लागि थियो भनेर संविधानमै प्रष्ट लेखिएको छ ।’
सांसद सुवालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न संसदमा दर्ता भएको विधेयक प्रस्तुत नगर्न भन्दै विरोधको सूचना दर्ता गराएका गराएका थिए ।
जसको जवाफ स्वरुप मन्त्री शर्माले वर्षौंसम्म आयोग र त्यसका पदाधिकारीलाई पालेर राख्न नसक्ने भएकाले संक्रमणकालीन न्यायलाई टुंग्याउन ऐनमा संशोधन गर्न लागिएको बताए ।
विधेयकमा पीडित वा पीडित परिवारको परिपूर्णको विषय महत्वका साथ समावेश भएको दावी गर्दै उनले पीडक पत्ता नलागे पनि पीडित परिवारलाई सरकारले परिपूरण उपलब्ध गराउने बताए ।