सहकारी जनता ठग्न व्यस्त , सरकार सुस्त — OSNepal

सहकारी जनता ठग्न व्यस्त , सरकार सुस्त

LC (KTM) August 22, 2022 0

रुषा थापा

काठ्माडौँ लगायत देशैँभरिका जनताले सहकारीमा जम्मा गरेर राखेको रकम सहकारीहरुले लिएर भाग्दा आज प्रत्येक घरमा रुवाबासी चलिरहेको छ । पछिल्लो समय सहकारीले कर्मचारीलाई समेत तलब दिन नसकेकाले कतिलाई बिनातलब निकालिरहेको छ भने कतिले आफैँ जागिर छोडिरहेका छन् । यता सहकारी राखेको घरको पनि घरधनीहरुलाई भाडा तिर्न नसकेकाले ती घरहरु पनि ताल्चा लगाइएको पाइन्छ ।

अहिले बजारमा एउटा नयाँँ कुरा निकै चर्चामा आएकोे छ । सहकारी भाग्यो, बैंक डुब्यो । अहिले बच्चादेखि बुढोसम्म सहकारी जनताको पैसा लिएर भाग्यो रे अनि बैंक तै डुब्यो रे भनेर बताउँछन् । सहकारीहरु अहिले कसैले नदेख्न नगरी टाप कसीसकेका छन् । सार्वजनिक सवारीसाधन, चौतरादेखि बाटोमा समेत यो कुरा प्रशस्त सुन्न पाइन्छ । सहकारीहरु यसरी भाग्दा आज जनताले यिनीहरुमाथि विश्वास गर्न छोडे र रहेका सहकारी संस्थाहरुमा काम गर्ने कर्मचारीहरुले पनि आफूलाई पछि गाह्रो हुन्छ भनेर जागिर नै छोडेको बताउँछन् । महिनामा ७ देखि ८ हजारमा काम गर्ने कर्मचारीलाई समेत तलब दिन नसकेर यिनीहरुले हटाइरहेका छन् भने अध्यक्ष र चेयरम्यान १२ बजे कार्यालय आए पनि ५० हजारदेखि डेढ लाख तलब खान्र्थे ।
यी मानिसहरु अहिले बरु साग बेचेर खान्छु तर सहकारीमा काम गर्दिँन भन्छन् । यसरी हरेक सहकारीहरु भाग्दा अहिले जनता यिनीहरुलाई ठग भन्छन् । दिनहुँ जस्तो नै सहकारीहरु भागिरहेका छन् जनताको पैसा फिर्ता गर्न नसकेर सहकारीका अध्यक्ष तथा चेयरम्यानहरु पनि अफिस पनि आउँदैनन् र लुकीलुकी हिड्छन् । अहिले सहकारीहरुले जनताको पैसा फिर्ता गर्न नसकेकाले नयाँ डिपोजिटहरुलाई २४ देखि ३६ प्रतिशत ब्याज दिन्छुभन्दा पनि मानिसहरु सहकारीमा पैसा राखदैनन् ।

सहकारी डुब्यो भने अहिले बाटामा मकै पोल्नेदेखि साग बेच्नेले समेत थाहा पाइसकेका छन् । त्यसकारण उनीहरु आफ्नो पैसा निकाल्न लाइनमा बसेका छन् । पछिल्लो समय पनि कति सहकारीहरुले बजारमा पैसा उठाउनका लागि बजार प्रतिनिधि खटाइरहेको पाइन्छ । तर यिनीहरुमाथि जनताको विश्वास हटेकाले जनता पैसा राख्दैँनन् । एक वर्षअघि एउटा बजार प्रतिनिधिले दिनहुँ १ लाखदेखि ३ लाख रकम उठाउने गर्थे तर अहिले ४देखि ७ हजार पैसा पनि दिनहुँ उठाउन यिनीहरलाई धँौधँौ छ ।

अहिले व्यापारीदेखि जनताले समेत सहकारी तथा बैंकहरुमा पैसा राख्न छोडिसकेका छन् । भाग्ने सहकारीहरु त भागिसकेका नै छन् र नभागेका सहकारीहरुले न जनताको रकम फिर्ता गर्न सक्छन् , न कर्मचारीलाई तलब दिन सक्छन् न त घरभाडा नै तिर्न सक्छन् ।सरकारले कर लिनका लागि सहकारीहरुलाई च्याउ उम्रिएको जसरी दर्ता गर्न दियो तर आज यत्रो जनताको पैसा सहकारीले लिएर भाग्दा किन सरकार चुपचाप । बजारमा एउटै घरमा ७ ओटा सहकारीहरुको देखिन्छ । सहकारीहरु आफन्त मिलेर खोल्ने, कर्मचारी पनि आफन्त नै राख्ने , जनतालाई महंगो ब्याजको प्रलोभनमा पारी पैसा लिने , घुस खाएर जोखिमपूर्ण वस्तु तथा घरजग्गा, सेयर र गाडिमा लगानी गर्ने नभए भएको सबै पैसा लिएर टाप कस्ने गर्छन् ।
घरजग्गा, सेयर र गाडिको मूल्य उच्च रहँदा यिनीहरुले यी वस्तुहरु धितो राखेर कर्जा प्रवाह गरे । दुई दशकअघि आनाको एक लाखमा बिक्री नहुने जग्गा यहँी सहकारी तथा बैंकहरुले लोन दिएर ३५ लाखमा पुराए । अहिले घरजग्गा, सेयर तथा गाडिको मूल्य तथा किनबेचमा मन्दी आएर यिनीहरु डुबिसकेका छन् । जुन पहिलाको भाउ थियो आज त्यहँी भाउमा यी वस्तुहरु फर्किदैँ छ ।

यता २ हजार कित्तामा किनेको सेयर आज सय रुपैँयामा बिक्री हुदैँन । सवारीसाधन भनेको फलाम हो र हिजो १ लाख हालेर किलोमा किनेको फलाम तथा सवारीसाधन अहिले २० रुपैँयामा बिक्री गर्छु भन्दा पनि बिक्दैँन । जनताहरु पनि ब्याज खान पल्केर आफ्नो भएको सम्पूर्ण सम्पत्ति बचेर सहकारीमा राखे । १३ देखि २२ प्रतिशतको ब्याजको लोभमा आज आफूले आफैँलाई कंगाल भनाए । यसरी सहकारीहरु जनताको पैसा लिएर भाग्दा किन सहकारी मन्त्री शाशी श्रेष्ठ यसप्रति कुनै चोसो देखाउँदिनन् । सरकार अब पनि किन जनतालाई सहकारी तथा बैंकहरुमा पैसा नराख्न सचेत गराउदैँन । बढी ब्याजको प्रलोभनमा भएको सम्पूर्ण जीवनभरको कमाइ नै गुम्न सकिन्छ भन्ने कुरा अहिले पनि किन बताउँदैन । हिजो सहकारीहरुले जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने बताउँदै ब्याज बढी दियो तर आज तिनीहरु कै पैसा फिर्ता नदिएर उनीलाई रुवाबासी गराइरहेका छन् ।

अहिले सहकारीमा पैसा राख्ने मानिसहरुलाई रातको निन्द्रा र दिनको भोक सबै मेटिसकेको छ । सहकारीमा कुनै नागरिकले १० लाख राखेको छ भने निकाल्न जाँदा ५ हजारभन्दा बढी फिर्ता दिदैँन । ब्याज चाहिँन बरु साँवा मात्र फिर्ता गर्नुस् भनेर रुवाबासी गर्दा पनि सहकारीहरु पैसा फिर्ता गर्दैनन् । सहकारीमा पैसा डुबेर कति त डिप्रेसनमा गएका छन् भने कति सुकुम्बासी भएका छन् ।

सहकारीमा ९१ लाख नागरिको पैसा डुब्दा देशमा गरिबी र सुकुम्बासी बढ्ने छ । यिनीहरुले अडिर गर्दा घुस खान दिन्छन् र अडिर गराउँछन् , यिनीहरु डुबिसकेका हुन्छन् तर नाफामा गएको देखाउँछन् र जनतालाई पैसा राख्न फकाएर भाग्छन् । यता कति सहकारीहरुले साधारण सभा नै गरेका छैनन् भने कति सहकारीहरुमा दशै वर्षदेखि एउटै अध्यक्ष तथा चेयरम्यान बसिरहेका छन् । तर फेरि यिनै जनता ठग्ने सहकारीहरुलाई सरकारले सम्मान गर्ने गर्छ । अब मानिसहरु आफनो पैसा यसरी डुबेको हेर्दा चिन्ताले नै मर्ने छन् । कति अभिभावकहरुले आफ्नो बालबच्चाहरुका लागि भनेर जम्मा गरेर राखेको पैसा डुब्दा बालबालिकाहरु पनि शिक्षाबाट वञ्चित हुने छन् । अब यिनीहरु पनि सुकुम्बासी हुने भएकाले अब यिनीहरुले पनि सरकारसँग सरकारी जग्गा माग्छन् वा कब्जा गर्छन् जसका कारण सरकारलाई सरकारी जग्गा दिनुपर्ने बाध्यता सिर्जना हुन्छ ।

अहिले घरजग्गा हुनेले आफ्नो घरजग्गा भाडामा लगाएर सरकारी जग्गा, गुठीका जग्गा, मठमन्दिरका जग्गाहरुमा सुकुम्बासी भएको नाटक गरेर वा घरबनाएर कब्जा गरिरहेका छन् । खोला वा कोशीको दायाँ र बायाँँतिर रहेका सम्पूर्ण सरकारी जग्गाहरु कब्जा गरिरहेका छन् भने अरु पनि गर्दै छन् । राजनितिक दलहरुले भोट लिनका लागि मानिसलाई सुकुम्बासीको बहाना बनाएर सरकारी जग्गा कब्जा गर्न लगाए , आजसम्म ती जग्गाहरु सरकारले आफ्नो हातमा लिन सकेको छैन भने अब झन् सुकुम्बासी र गारिबीको संख्या बढ्दा सरकार के गर्छ ।
आफूले मेहेनतले जीवनभर कमाएर राखेको पैसा सहकारीमा माग्न दिनहुँ जनताहरु जान्छन् तर सहकारीले खाली हात पठाउँछ । देशैभरि ३५ हजार २४० ओटा सहकारीहरु रहेका छन् यी सहकारीहरुमा९१ लाखभन्दा बढी जनताको १० खर्ब पैसा रहेको छ तर आज यिनीहरु यसरी भाग्दा जनताको रकम डुबिसकेको छ । कति सहकारी त भागिसकेका छन् भने कति आज कि भोलि भाग्ने भनेर बसिरहेका छन् । यत्रो जनताको यति धेरै पैसा सहकारीले लिएर भाग्दा वा डुबाउँदा सहकारी विभागका महानिर्देशक रुद्रप्रसाद पण्डित सरकारी गाडि चढ्ने, जनताले तिरेको करबाट तलब खाने , सहकारी सञ्चालकसँग मिलेर जनता ठग्ने र आर्थिक लेनदेन गरेर त्यस्ता सहकारीहरुलाई कारबाही गर्दैनन् ।

प्रत्येक सहकारीमा पछिल्लो समय आन्दोलन, भिड रहेको पाइन्छ । मानिसहरु आफूले नै राखेको पैसा निकाल्नका लागि बिहानदेखि बेलुकासम्म लाइनमा बस्छन् भने यता सहकारीले पैसा नदिएपछि आन्दोलन पनि भएको सुनिन्छ । दिनभरि भोकभौक आफ्नो पैसा निकाल्न बस्छन् तर बेलुका खाली हात फर्कछन् । सहकारीहरुले जनताको पैसा हिजो लिनेबेला भएको जति सबै लियो तर फिर्ता गर्ने समयमा विभिन्न बहाना भनाइ रहेको छ ।

यिनीहरुले अहिलेपनि कति डिपोजिटहरुलाई पैसा ननिकाल्नु ब्याज बढाउँछु भन्छन् भने कतिलाई हाम्रो सहकारी नाफामा छ भनेर फसाउँछन् । त्यस्तै कतिलाई हामी भाग्दैँनौँ भन्दै हाम्रो आफनै भवन रहेको बताउँछन् । अहिले नागरिकहरुको जीवनभरको कमाइ एक क्ष्ािणकमा डुब्दा जनतालाई मर्नु कि बाँच्नु भइरहेको छ ।
पछिल्लो समय सबै सहकारीहरु डुब्दै गरेको भन्ने कुरा हरेक नागरिकलाई थाहा भइसकेका छ । त्यसकारण मानिसहरु अहिले आफ्नो पैसा निकाल्नका लागि दौडधुप गरिरहेका छन् । सहकारी तथा बैंकहरुमा पैसा राख्ने मानिसहरु अब निदाएर बस्नुहुदैँन । किनभन्दा सहकारी कतिखेर भाग्छ र बैंक कुनबेला डुब्छ भन्ने कुराको ठेगान छैन । बैंकमा पनि पैसा निकाल्नेको भिड छ । बैंकहरु पनि हामी पैसा फिर्ता गर्न सक्दैनौँ भनेर हात उठाउन थालिसकेका छन् ।

अहिले बैंक १ लाखको चेक साट्दैन , सहकारी ५ हजार फिर्ता गर्न सक्दैँन । देशमा यत्रो आर्थिक संकट आउँदा र यतिधेरै जनताहरु नराम्रोसँग डुब्दा पनि राजनितिक दलहरु किन बोल्दैनन् । जति पनि सहकारीहरु दर्ता भएका छन् वा सहकारीमा रहेका अध्यक्षहरु सबै राजनितिक दलका नै कार्यकर्ता हुन् । सहकारीले गरिबलाई धनी बनाउने होइन , उल्टै धनीलाई गरिबलाई बनाउँछ । घरघरमा सहकारी, ढुकुटीमा धानको भकारी भन्ने नारा यिनीहरुलाई चलाएका थिए तर आज त जनतालाई बिकारी नै बनाएर गए ।
सहकारीको नाममा राजनिति गर्ने नेताहरु अहिले कुन दुलोतिर लुकेर बसिरहेका छन् कसैलाई थाहा छैन । अहिले पनि कति मानिसहरु व्यस्त भएर वा यी खबरहरु थाहा नपाएर सहकारीमा आफ्नो पैसा निकाल्न पनि गएका छैनन् र बुझन पनि गएका छैनन् ।

सहकारीमा डिपोजिट गर्ने मानिसहरुलाई त यिनीहरुले पैसा फिर्ता गर्ने सकेका छैनन् भने कर्जा तै कताबाट प्रवाह गर्छ नि त । हिजो सहकारीमा घरजग्गा, गाडि धतो राखेर कर्जा खाने मानिसलाई ३ प्रतिशत सेवाशुल्क, सेयर भिडाउने , १ करोड मूल्य बराबरको धितो छ भने ५० देखि ६० लाख दिने , लोन दिएबापत १० प्रतिशत घुस खाने , ब्याज भन्ने समयमा १६देखि २० प्रतिशत भन्ने तर हिसाब गर्ने समयमा ४२ प्रतिशत ब्याज लिने र मिटरब्याजमा कर्जा दिएर जनतालाई ठग्ने गर्छन् ।

यता कर्जा लिएको मितिदेखि साँवा र ब्याज तिर्न सुरु गर्नुपर्ने , कित्ता तिर्न एक दिन ढिलो भएमा जरिवाना तिराउने र यता जनताले डिपोजित गरेको पैसामा भने महिना नमरि ब्याज नदिने तर कर्जाको भने चाहिँ कर्जा चुक्ता गरेको दिनसम्मको ब्याज लिने गर्छन् ।कर्जा लिएको तीन कित्ता साँवा ब्याज नतिरेमा त्यो १ करोडको सम्पत्ति पनि त्यति पैसामै खाने गर्छन् । मानिसलाई सडकछाप बनाउने अनि तीन कित्ता नतिरेमा पत्रपत्रिकामा फोटोसहित निकाल्ने , गुन्डा पाल्ने , ऋणीलाई र्थकाउने वा तर्साउने गर्छन् । साथै बैंक तथा सहकारीहरुले यी संस्थाबाट धितो राखेर कर्जा खाने ऋणीहरुलाई पहिला नै मन्जुरी कागजपत्र गराई अंठौँ छाप लगाउने र अशिक्षित मानिसहरुलाई ४० लाख पैसा लिएमा ४५ लाखको तमसुक गराउने गर्छन् ।

यता हामीले महिना महिनामा कित्ता तिरेपनि त्यो रकम हाम्रो खातामा लगेर हाल्ने र खातामा जम्मा गरेको पैसाको ब्याज नदिने तर कित्ता डियु भएको भन्दै जरिवाना तथा पेलान्टी तिराउने गर्छन् । हामीले महिना महिनामा तिरेको कित्ता पनि ब्याज र पेलान्टीमा नै ठिक हुने र यता साँवा घट्ने गर्देन । कति ऋणीहरुले कर्जा लिएको रकम चुक्ता गरेपनि बैक, फाइन्सहरुले त्यो घरजग्गाहरु आफू लिनका लागि फुक्का गर्ने गर्दैनन् । यदि यी संस्थाहरुमा पैसा राख्ने मानिसहरु केही कारणले मरेमा यिनीहरुले त्यस मानिसको आफन्तलाई नबताइ त्यो रकम आफेँ खाने गर्छन् ।

अहिले त सहकारीहरुले ३ देखि एक वर्षसम्ममा ब्याज दिने भनेर बताउँछन् त्यससमयसम्म त यिनीहरु नै पैसा लिएर भागिसकेका हुने छन् । अहिले सहकारीमा काम गर्ने कर्मचारीले आफनो सहकारी डुब्न लागेको भनेर केही बताएमा उसलाई नै कामबाट निकालदिने गरिन्छ । आफनो जागिर बचाउनका लागि कर्मचारीहरु पनि चुपचाप बसिरहेका छन् । यस्तो जनता ठग्ने वा डुबाउने सहकारीहरुका विरुद्धमा अब जनता पनि सडकमा आउनुपर्छ , सञ्चारकर्मीहरुले कलम चलाउनुपर्छ । जनताले पनि सहकारीमा अब पैसा राख्न छोड्नुपर्छ र राज्यले पनि सहकारीमाथि अनुगमन कडा गर्नुपर्छ । सरकारले वडा , गाउँपालिका र नगरपालिकालाई सहकारी अनुगमन गर्ने जिम्मा दिएको छ तर यिनीहरु केही अनुगमन गर्दैन । सहकारी जनता ठग्न व्यस्त सरकार सुस्त । सिधासाधी, अशिक्षित जनतालाई अहिलेपनि सहकारी भाग्यो भनेर पत्तै छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर