काठमाडौं ६ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले चुनावमा अन्तर्घात गर्नेलाई कारवाही हुने बताएका छन् ।
पार्टीको अन्र्तघात छानविन समितिले बुझाएको प्रतिवेदन बुझ्दै प्रचण्डले सो बताएका हुन् । पार्टीले अनुशासन आयोगका अध्यक्ष टंक राईको नेतृत्वमा खिमलाल देवकोटा र मुक्ति प्रधान रहेको छानविन समिति बनाएको थियो ।
‘अनुशासन तोड्नेलाई कारबाही नगर्ने हो भने कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टीजस्तो रहँदैन । यो छानबिन नगरी दोषीलाई कारबाही प्रक्रिया अघि नबढाई कम्युनिस्ट आन्दोलन, पार्टी पुनर्गठन अघि बढाउन सम्भव छैन’ प्रचण्डले भने ।
कुनै खास ठाउँमा भएको अनियमितता र गडबडी सच्याउने कुरामा मात्र सम्बन्धित नभएको बताएका उनले पार्टीलाई विधिसम्मत र अनुशासनमा चलाउने र राम्रोलाई प्रोत्साहन गर्ने कुरासँग पनि सम्बन्धित रहेको बताए ।