शेयर धितो कर्जाः ठूला ऋणीबाट घटाएर सानालाई प्रोत्साहन — OSNepal

शेयर धितो कर्जाः ठूला ऋणीबाट घटाएर सानालाई प्रोत्साहन

LC (KTM) August 22, 2022 0

काठमाडौं, भदौ ६। बैंक तथा वित्तीय संस्थाहरूले सानो आकारको शेयर धितो कर्जालाई प्राथमिकता दिन थालेका छन् । एकै व्यक्तिले धेरै कर्जा लिएर शेयरबजारमा लगानी गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा व्यवस्था गरेपछि ससानो कर्जामा बैंकहरूको लगानी बढ्न थालेको हो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाले २०७८ असारमा १ खर्ब ६ अर्ब २८ करोड रुपैयाँ शेयर धितोमा कर्जा प्रवाह गरेकोमा २०७९ असारमा २५ अर्ब ७७ करोड रुपैयाँले कमी आई ८० अर्ब ५० करोड रुपैयाँमा सीमित भएको छ । समग्रमा शेयर धितो कर्जा घटे पनि सानो आकारको कर्जा भने वृद्धि भएको छ ।

बैंकहरूले २०७८ असारमा २५ लाख रुपैयाँभन्दा कम ऋण लिनेलाई ७ अर्ब ३७ करोड रुपैयाँ प्रवाह गरेकोमा १ वर्षमा बढेर ८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । यस्तै २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कर्जा २०७८ असारको तुलनामा १ अर्ब ८४ करोड रुपैयाँले बढेर १५ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।

१ करोड रुपैयाँभन्दा बढीको शेयर धितो कर्जा भने २६ अर्ब ९६ करोड रुपैयाँ र ५० लाखदेखि १ करोडसम्मको कर्जा १४ अर्ब ५५ करोड रुपैयाँले घटेको राष्ट्र बैंकले जानकारी दिएको छ ।आर्थिक अभियान दैनिकमा खबर छ ।

२०७८ असारको तुलनामा २०७९ असारमा समग्र शेयर धितो कर्जा २४ दशमलव ३ प्रतिशतले घट्दा १ करोड रुपैयाँभन्दा बढीको कर्जा ३६ दशमलव ७ प्रतिशतले र ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा १२ दशमलव १ प्रतिशतले घटेको छ । तर, २५ लाखदेखि ५० लाखसम्मको कर्जा १३ दशमलव ८ प्रतिशत र २५ लाख रुपैयाँभन्दा कमको कर्जा १० दशमलव ८ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर