काठमाडौं ५ भदौ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमालेको लागि आगामी निर्वाचन अप्ठ्यारो स्थितिमा पुगेको बताएका छन् ।
आइतबार पोखरामा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएका नेता पाण्डेले गएको २०५६ सालको निर्वाचनमा जस्तै यस पटक पनि एमालेलाई अप्ठ्यारो हुने बताएका हुन् ।
‘२०५६ सालमा भएको चुनावमा पार्टी विभाजित भए पनि हाम्रा विरुद्धमा कसैको गठबन्धन थिएन । अहिले हामी विभाजनको अवस्थामा पनि पर्ने र सँगसँगै विभिन्न दल मिलेर गठबन्धन पनि गर्ने दुई चुनौति हाम्रा सामु छन् । यी दुबै चुनौतिलाई हामीले गम्भीरतापूर्वक एनालाइसिस गरेका छौं ।’ पाण्डेले भने ।
एमालेमा भएको विभाजनले जनतामा प्रभाव परेको बताएका उनले अहिलेको गठबन्धन मुलुकका निम्ति आफैं समस्या बनेर आउन सक्ने बताए ।
‘गठबन्धनबाट मुलुकले समाधान पनि नपाउने, गठबन्धन केका लागि भन्दा समस्या समाधानको लागि भन्ने तर गठबन्धन आफैं समस्या बनेर आयो भने न त मुलुकले समाधान पायो न कुनै एउटा दललाई अगाडि बढ्नका लागि बाटो खोलियो, यो गठबन्धनले मुलुकलाई थप संकटतिर पनि लान सक्छ ।’
आउने ५ वर्षले यसअघि भएका राजनीतिक अस्थिरता समाधान गर्न सक्यो भनेमात्रै देशले सही दिशा लिने भन्दै पाण्डेले भने ,’परिस्थिति कस्तो देखिँदै छ भने आउने चुनावले पनि कुनै बहुमतको सरकार नहुने र कम्तिमा २र३ सरकार बन्ने सम्भावना बोकिरहेको हो कि भन्ने म देख्छु।’