काठमाडौं ।
नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको निधन भएको छ। गिरीले ७५ वर्षको उमेरमा मेडिसिटी अस्पतालमा उपचारका क्रममा अन्तिम श्वास लिएका हुन् । नेता गिरीको निधन शनिबार राति ९ : ३६ मा निधन भएको अस्पताल स्रोतले जनाएको छ। उनको विगत तीन सातादेखि मेडिसिटीमा उपचार हुँदै आएको थियो।
क्यान्सर र निमोनियाबाट ग्रसित नेता गिरीको परिवारको आग्रहमा शुक्रबार उनलाई भेन्टिलेटरबाट निकालेर आइसियूमा राखिएको थियो। उनको स्वास्थ्य अवस्था झन् झन् जटिल बन्दै गएपछि परिवारले शनिबार अपराह्न्न उनको शरीरका धेरै अंगले काम गर्न छाडेको जनाएको थियो ।
ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका बेला गिरीको शरीरका धेरै अंगले काम गर्न छाडेको उनको परिवारले एक विज्ञप्तिमार्फत जानकारी दिएको थियो । शनिबार भारती सिलवाल गिरिले जारी गरेको प्रेस विज्ञप्तिमा गिरीलाई निमोनियाले एकदमै च्यापेको र पछिल्लो पटक शरीरका थुप्रै अंगहरूले काम गर्न छाडेको बताएकी थिइन् ।
अस्पतालको सम्पूर्ण टोली अन्कोलोजिस्ट, पल्मुनोलोजिस्ट, ग्यास्ट्रोएनटेरेनोलोजिस्ट, नेफ्रोलोजिस्ट, इन्टरनिस्ट र क्रिटिकल केयरका विशेषज्ञहरूले गिरिको समय(समयमा स्वास्थ्य चेकअप गरिरहेको र टिमले उनको स्वास्थ्य लाभको लागि सक्दो प्रयास गरिरहेको भएता पनि गिरीलाई बचाउन सकिएन ।