पब्जी खेलेरै दुई करोड आम्दानी, युवाहरू आकर्षित ईस्पोर्ट्स के हो — OSNepal

पब्जी खेलेरै दुई करोड आम्दानी, युवाहरू आकर्षित ईस्पोर्ट्स के हो

LC (KTM) August 18, 2022 0

विश्वव्यापी रूपमा चर्चित हुँदै गएको ईस्पोर्ट्स अर्थात् विद्युतीय उपकरण प्रयोग गरी विभिन्न खेल खेल्ने प्रचलनले पछिल्ला वर्षहरूमा नेपालमा पनि व्यापक हुँदै गएको छ।प्रविधिको विकास, उपकरण र इन्टरनेटको पहुँच बढेसँगै मोबाइल र कम्प्युटर जस्ता उपकरण प्रयोग गरी पब्जी मोबाइल, फ्री फाएर, डोटा २, काउन्टर स्ट्राइक लगायतका अनेकन् खेलमा रमाउनेहरूको सङ्ख्या उल्लेख्य रूपमा बढ्दै गएको जानकारहरू बताउँछन्।

सुरुवाती समयमा सोखका रूपमा वा मनोरञ्जनका लागि यस्ता खेलमा रमाउनेहरूले कतिपयले त यी खेलमै भविष्य देख्न थालेका छन्।त्यसको कारण हो खेलेमा रमाउँदै गर्दा हुन थालेको आम्दानी। इन्टरनेटको माध्यमबाट एक – एक जनादेखि समूहगत रूपमा खेल खेल्न सकिने हुँदा हाल राष्ट्रिय, क्षेत्रीय अनि अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना भइरहेका छन्।

त्यसता कतिपय प्रतियोगिता जित्नेले ५५,००० अमेरिकी डलर (हालको विनिमय दर अनुसार ७० लाख रुपैयाँ भन्दा बढी) प्राप्त गर्ने जानकारहरू बताउँछन्।नेपालमा दर्ता गरेर सञ्चालन भएका ईस्पोर्ट्स कम्पनीको सङ्ख्या २०को हाराहारीमा हुन सक्ने अनुमान गरिएको छ।

के हो ईस्पोर्ट्स?

सामान्य भाषामा भन्दा विद्युतीय उपकरण प्रयोग गरी एक्लै वा एक आपसमा इन्टरनेटमार्फत खेलिने खेललाई ईस्पोर्ट्स भनिन्छ।विगतमा टेलिभिजनमा जोडेर खेल्न सकिने भिडिओ गेम अनि कम्प्युटर गेम आदि खेलिन्थ्यो।सुरुवाततिर कम्प्युटर आफूले मात्रै खेल्न सकिने खेलहरूमा सीमित थियो।पछि एकै पटक दुई वा दुई भन्दा बढी व्यक्तिले खेल्न मिल्ने खेल हुँदै समूहगत रूपमा खेल्न मिल्ने खेलहरू विकास भए।

हाल ईस्पोर्ट्स अन्तर्गत पिसी गेम्स (कम्प्युटरबाट खेलिने खेल), मोबाइल गेम्स, प्ले स्टेसनबाट खेलिने कन्सोल गेम्स, ए आर भी आर गेम्स र सिमुलेसन् गेम्सहरू प्रख्यात हुँदै गएका छन्।”धेरैले एकै पटक खेल्न मिल्ने ‘कम्पिटेटिभ’ गेम आएपछि चाही यो एकदमै प्रख्यात भयो। ईस्पोर्ट्स भनेर सुरु भएकोचाहिँ सन् २००४ – २००६ तिर होला,” नेपाल ईस्पोर्ट्स सङ्घका अध्यक्ष सुरज डङ्गोलले भने।

उनका अनुसार सन् २००८मा इन्टरन्याशनल ईस्पोर्ट्स फेडरेसन (महासङ्घ) स्थापना भएपछि यसलाई खेलकै रूपमा मान्यता दिन थालिएको हो।त्यसअघि ई-गेम, गेमिङ, साइबर गेम्स लगायतका नामबाट यस्ता खेलहरू परिचित थिए। तर सङ्घको स्थापनाले यसलाई एउटै परिचय दिलायो।पश्चिमा राष्ट्र अनि चीन, जापान, दक्षिण कोरिया लगायतका ओरिएन्टल राष्ट्रहरूमा ईस्पोर्ट्सले ख्याति कमाएको लामै समय भइसकेको छ। ती मुलुकमा आर्केड गेम (खास गरी भिडिओ गेम) पनि निकै प्रख्यात थिए।नेपालमा पनि भिडिओ गेम पार्लरहरूमा स्ट्रिट फाइटर, टेकन जस्ता खेलहरू नभित्रिएका होइनन्। तर अन्य देशहरूमा जस्तै यो खेल नेपालमा भने व्यापक हुन सकेन।

डङ्गोलका अनुसार नेपालमा साइवर क्याफेको सङ्ख्या विस्तार हुन थालेसँगै अनलाइन खेलबारे धेरैले थाहा पाउन थाले।सीएस: गो अर्थात् काउन्टर स्ट्राइक : ग्लोबल अफेन्सिभको पहिलो संस्करण आएपछि समूहगत रूपमा खेलिने खेल झन् प्रख्यात भएको उनी बताउँछन्।सँगै फुटबलले पनि ख्याति पाउन थाल्यो। ईस्पोर्ट्सको दायरा फैलिएसँगै संस्थागत रूपमा अघि बढ्ने सन् २०१२ देखीको आफूहरूको सोचले सन् २०१६मा सङ्घ स्थापना भएपछि मूर्त रूप लिएको उनी बताउँछन्।

यो सङ्घले इन्टरन्याशनल ईस्पोर्ट्स फेडरेसन (महासङ्घ)को सम्बन्ध प्राप्त गरेको छ। साथै एशियन स्पोर्टस फेडरेसन लगायतका खेलकुद सङ्घसँग पनि उसले सम्बन्ध स्थापना गरेको छ।
सन् २०१८बाट सङ्घले बर्सेनि नेपाल ईस्पोर्ट्स च्याम्पियनसिप आयोजना गर्दै आएको छ। उक्त प्रतियोगितामा डोटा, सीएस गो, फिफा, पब्जी मोबाइल र फ्री फायर जस्ता खेलहरू समावेश गरिएका छन्।

नेपालमा कुन खेल बढी खेलिन्छ?
सन् २०१० तिरबाटै क्रमिक रूपमा विस्तार हुँदै गएको ईस्पोर्ट्स अन्तर्गतका खेल मध्ये नेपालमा सबैभन्दा बढी मोबाइल गेम्सले ख्याति कमाएको जानकारहरू बताउँछन्।अझ कोरोनाभाइरस महामारीका कारण लकडाउन लगायतका प्रतिबन्धात्मक व्यवस्था लागु भएपछि मोबाइल गेम्स खेल्नेहरूको सङ्ख्या व्यापक रूपमा बढेको उनीहरूको भनाइ छ।

सहज रूपमा आफ्नै फोनमार्फत अरू साथी भाइसँग जोडिएर खेल्न मिल्ने भएकोले पनि मोबाइल गेम्स प्रख्यात भएको बताइन्छ।”यसमा प्रवेश सहज छ। गेमिङ पीसी किन्दा कम्तीमा दुई लाख रुपैयाँ पर्छ। प्ले स्टेसनमा पनि झन्डै एक लाख रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ। मोबाइल त ३० – ४० हजारकैले काम चल्छ,” डङ्गोलले भने।त्यसै कारण नेपाल सहित दक्षिण एशियाका राष्ट्रमा मोबाइल गेम्स तुलनात्मक रूपमा बढी खेलिन्छ। पश्चिमा राष्ट्रहरूमा भने कम्प्युटरबाट खेलिने खेलहरू बढी खेलिने बताइन्छ।

हालसालै काठमाण्डूमा आयोजना गरिएको एशियन गेम्सका लागि छनोट चरणको खेलमा चार हजार भन्दा बढी खेलाडी सहभागी भएको सङ्घले जनाएको छ।नेपालमा मनोरञ्जनका लागि ईस्पोर्ट्समा रमाउनेहरूको सङ्ख्या उल्लेख्य रहे पनि प्रतिस्पर्धात्मक खेलमै सहभागी हुनेहरूको सङ्ख्या भने कम रहेको बताइन्छ।

आर्थिक अवस्था कस्तो छ?
नेपालमा खेलिने ईस्पोर्ट्स अन्तर्गतका खेलहरूमा सबैभन्दा बढी बोलवाला पब्जी मोबाइलको छ।त्यसले गर्दा आर्थिक रूपमा पनि पब्जी खेल्ने खेलाडीहरूले तुलनात्मक रूपमा ‘राम्रो’ कमाइ गरिरहेका छन्।एलिमेन्ट्रिक्स, हाई भोल्टेज, स्काइलाइट्स गेमिङ, डेराइ गाइज, ट्रेन्ड टु किल, डीआरएस र ज्यानमाराजस्ता टोलीहरूले त तलबै दिएर खेलाडीहरूलाई राखेका छन्।त्यस्तै डोटा र सीएस: गो खेलका लागि जर्मनीको कम्पनी माई रिभेन्ज इभीले केही समय अघिसम्म नेपालका खेलाडीहरूलाई सहयोग गरेको डङ्गोल बताउँछन्।अन्य खेलमा जस्तै ईस्पोर्ट्सका खेलाडीहरूले पनि आफ्नो टोली फेरिरहेका हुन्छन्।

तर झट्ट हेर्दा ईस्पोर्ट्समा ‘धेरै’ पैसा भए जस्तो देखिए पनि समग्रमा नेपाली खेलाडीहरूको आर्थिक अवस्था त्यति राम्रो नभएको जानकारहरू बताउँछन्।कतिपय खेलाडीले यूट्यूब र फेसबुक लगायतका प्लेटफर्ममा विभिन्न खेलहरू लाइभ स्ट्रीम गरेर पनि आम्दानी गरिरहेका छन्।तर त्यो सङ्ख्या ठूलो भने छैन।”कतिपय त स्ट्रीमिङ सेलिब्रिटीका रूपमा पनि देखिएका छन्। कतिपयले हिन्दी भाषामा स्ट्रीमिङ गरेर पनि राम्रै दर्शक बटुलेका छन्,” डङ्गोलले भने।

ईस्पोर्ट्सबाट पैसा आर्जन गर्ने अर्को पाटो हो ‘कास्टर’को भूमिका निर्वाह गर्ने।फुटबल, क्रिकेट र भलिबलजस्ता खेलहरूमा ‘कमेन्टेटर’ले निर्वाह गर्ने भूमिका ईस्पोर्ट्समा ‘कास्टर’हरूले निर्वाह गर्छन्।विभिन्न प्रतियोगिताहरूमा खेलबारे नेपालीमा व्याख्या गरेर नेपालीहरूले आम्दानी गरिरहेका छन्।त्यस बाहेक रेफरी, खेल व्यवस्थापन लगायतका विधामा पनि केहीले काम पाइरहेको बताइन्छ।

खेल जितेर एक वर्षमा ‘२ करोड रुपैयाँ’

नेपालमा संस्था नै दर्ता गरेर ईस्पोर्ट्सको प्रवर्धन गरिरहेको कम्पनी मध्य एक हो डीआरएस।यसको व्यवस्थापन २५ वर्षका सङ्गीन भट्टराईले गर्छन्।हाल यो कम्पनीले पब्जी मोबाइल प्रतियोगिताहरूमा सहभागिता जनाउँछ। डीआरएससँग ६ जना खेलाडी आबद्ध छन्।त्यस बाहेक टोली व्यवस्थापनका लागि तीन जना अनि ग्राफिक्स म्यानेजरका रूपमा दुई जना कर्मचारी छन्।

खेलाडी लगायतलाई ललितपुरको नख्खुस्थित एक घरमा आवासीय सुविधा सहित बुट क्याम्पमा राखिएको छ।”हामीले पछिल्लो समय भएका अधिकांश प्रतियोगितामा भाग लिएका छौँ। पहिलो चरण भनेको दक्षिण एशियास्तर हो। तर अहिले भने बिस्तारै त्यो विस्तार हुँदै छ, ” भट्टराईले भने।हालसालै यो टोलीले पब्जी मोबाइल नेपाल श्रृङखला जितेको छ। १० लाख रुपैयाँ कुल पुरस्कार रहेको उक्त प्रतियोगितामा दोस्रो हुँदै डीआरएसले डेढ लाख रुपैयाँ जित्यो।

”गत वर्ष भरीको सबै जोड्दा यति रकम प्राप्त गरेका हौँ,” उनले भने। ”यो आधिकारिक खेलहरूको मात्रै कुरा हो। सबै खेल जोड्यो भने २ करोड रुपैयाँ भन्दा बढी हुनसक्छ।”त्यस्तै गत वर्ष भएको एउटा परोपकारी प्रतिस्पर्धाबाट संयुक्त राष्ट्रसङ्घीय बालकोष युनिसेफलाई ‘५४,५०० डलर दिएको’ डीआरएसको दाबी छ।जानकारहरूका अनुसार दर्ता गरिएका संस्थाहरूलाई प्रतिनिधित्व गर्ने खेलाडीहरूले तलबका रूपमा निश्चित रकम प्राप्त गर्छन्।

त्यस बाहेक प्रतियोगिता जितेको अवस्थामा निश्चित प्रतिशत रकम संस्थाले राखेर अरू खेलाडीहरूमा वितरण गरिन्छ।सामान्यतया खेलाडीहरूको तलब ३० हजारदेखि एक लाख हुन्छ। बढी खेलाडीहरू १९ देखि १५ वर्ष उमेर समूहका रहेको बताइन्छ।

‘सबै खेलमा उत्तिकै फलदायी छैन’
काठमाण्डू घर भएका २२ वर्षका समीर गुरुङ फिफा फुटबल खेल्छन्।कुनै समय नेपालमा राम्रै बोलवाला रहेको यो खेल पछिल्लो समय व्यवसायकी रूपमा भने कमैले खेल्ने गरेको उनी बताउँछन्।उनले सन् २०१३-१४ तिर यो खेल खेल्न सुरु गरेका हुन्। फिफामा रमाउने प्राय खेलाडीहरूले पीएसपीमा यो खेल खेल्छन्।तर कोभिडका कारण लकडाउन भएपछि नेपालमा पब्जी मोबाइल जस्ता खेल प्रख्यात हुँदै गयो।

हाल फिफामा प्रायोजकको समेत कमी रहेकाले उनले आफ्नै हिसाबले खेल यात्रा अघि बढाएका छन्।फुटबल खेल्ने हुँदा गुरुङ कुनै टोलीमा पनि आबद्ध छैनन्।”यो वान भर्सेस वान खेल्ने खेल हो,” उनले भने। सन् २०२१मा उनी खेल्नकै लागि थाइल्यान्ड पुगेका थिए।तर अभ्यासको कमीकाबीच दक्षिण एशियाली खेलाडीहरूसँग भिड्दा उनी समूहगत चरणबाटै बाहिरिन पुगे।
उक्त प्रतियोगिताको आयोजकले यात्रा र वासस्थानको व्यवस्था गरी दिएको थियो।

नेपालमा हुने प्रतियोगिताहरूमा पनि उनी सहभागी हुन्छन्।”सुरुमा सोखका लागि खेलेको हो। पछि आफ्नो खर्च (पकेट मनी) जुट्न थाल्यो। नेपालमा धेरै पैसा नभएकोले यो सोख नै हो,” गुरुङले थपे।उनका अनुसार कोभिड महामारी अघि विभिन्न संस्थाले प्रतियोगिता आयोजना गर्थे।त्यस बेला १५०,००० रुपैयाँ सम्मको प्रतियोगिता नेपालमा भई रहने भए पनि अहिले अवस्था फेरिएको छ।
”अब त उमेर पनि बढ्यो। खासै खेलमा रुची पनि कम भयो। करिअर पनि हेर्नुपर्यो,” उनले थपे।

परिवारको दृष्टिकोण कस्तो?
ईस्पोर्ट्समा रमाउनेहरूले लामो समय स्क्रिनमा बिताउनुपर्ने र त्यसले गर्दा शारीरिक तथा मानसिक स्वास्थ्यमा समेत असर पर्ने चिन्ता अभिभावक तथा सरोकारवालाहरूले उठाउँदै आएका छन्।केही समय अघि सांसद आशाकुमारी विकले पब्जी र फ्री फायर लगायतका अनलाइन गेमहरू बन्द गर्नुपर्ने विषय सदनमा उठाएकी थिइन्।तत्कालीन नेपाल कम्युनिस्ट पार्टीले नेतृत्व गरेको सरकारले यसअघि एकपटक पब्जी खेलमा प्रतिबन्ध लगाएको थियो तर सर्वोच्च अदालतको अन्तरिम आदेशले त्यो लागु भएन। यस्ता खेल अत्यधिक खेल्नबाट परिवारले रोक्दा अप्रिय घटना घटेको विवरणहरू पनि सार्वजनिक भएका छन्। बीबीसी नेपाली सेवाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर