काठमाडौं १ भदौ । नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको टोलटोलमा शालीक बनाएर पूजा दिन आउने बताएका छन् ।
मंगलबार १९औं दोरम्बा हत्याकाण्ड स्मृति दिवसमा रामेछापको दोरम्बास्थित डााडाकटेरीमा आयोजित कार्यक्रममा नेता पुनले अब प्रचण्डको शालिक बनाएर पुजा गर्ने दिन आउने बताएका हुन् ।
राजनीतिक परिवर्तन र सामाजिक जागरणका नायकका रुपमा प्रचण्डको शालीकमा पूजा गर्ने दिन आउने दावी गरेका उनले प्रचण्ड नेतृत्वमा भएको माओवादी जनयुद्धले दलित, महिला, मधेसी र जनजाति समुदायमाथि वर्षौंदेखिको थिचोमिचो र अत्याचार अन्त्य भएको बताएका थिए ।
गणतन्त्र नेपालका पहिलो राष्टपति डा. रामवरण यादव र वर्तमान राष्टपति विद्यादेवी भण्डारीले प्रचण्डसँगको भेटमा आफूहरु राष्टपति हुनुमा माओवादी योगदानको रहेको भन्दै धन्यावाद दिने गरेको बताएका उनले पूर्वराष्टपति यादवले तराईमा भैंसी चराउने मानिसलाई माओवादी जनयुद्धले उच्च पदमा पु-याएको बताउने गरेको बताएका थिए ।
‘महिलाको नाममा धनी पूर्जाको नीतिले छोरीहरु सम्पत्तिको मालिक भएको, अंश र बंशमा छोरीको अधिकार स्थापित भएको, आमाको नामबाट पनि नागरिकता पाउने अवस्था निर्माण भएको तथा हरेक स्थानीय तहमा प्रमुख वा उप्रमुखमध्ये एक अनिवार्य महिला हुनैपर्ने जस्ताउपलब्धी माओवादीकै कारण भएको हो’ उनले भनेका थिए ।
मधेसी जनता, महिला, जनजाति, दलित सबैलाई बोल्न सक्ने र राज्य सञ्चालनको तहमा ल्याउने काम प्रचण्ड नेतृत्वको माओवादीले गरेको जिकिर गरेका उनले भने, ‘अहिले प्रचण्डको धेरै गाली गरेको सुनिन्छ । तर, समाज रुपान्तरण र जागरणका लागि खेलेको भूमिकाका कारण कुनै दिन चोकचोकमा प्रचण्डको शालीक बनाएर पूजा गर्ने दिन आउँछ ।’