काठमाडौं ३१ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठवन्धन सरकारको एक वर्षमा अर्थतन्त्र ओरालो लागेको बताएका छन् ।
अखिल नेपाल महिला संघद्वारा आयोजित ‘राजनीतिमा युवा महिला’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको सरकार बनेदेखि सबैतिर भद्रगोल र अराजकता मात्र भएको बताएका हुन् ।
आफ्नो सरकार हुँदा ९ लाख जनतालाई गरिबीको रेखाबाट माथि उठाएको दावी गरेका ओलीले गठबन्धन सरकारको एक वर्षमा सर्वत्र भद्रगोल भएको बताए ।
‘म प्रधानमन्त्री हुँदा ९ लाख जनतालाई गरिबीको रेखाबाट माथि उठाएका थियौं । तर, अहिले चारैतिर दुरावस्था मात्रै छ ।’ ओलीले भने ।
गठवन्धन सरकारको एक वर्षमा संसद पंगु भएको टिप्पणी गरेका ओलीले भने,’अर्थतन्त्र ओरालो लाग्यो । राजनीति भद्रगोल भयो । संसद पंगु भएको छ । संसद संसदजस्तो छैन । सरकार सरकारजस्तो छैन । अदालत अदालत जस्तो छैन । प्रधानन्यायधीसमाथि ६ महिनाभन्दा बढी हुन लाग्यो महाअभियोग लागेको । न्यायालयमा न्यायाधीश हड्ताल गर्छन् । वकिलहरु कम्फु कराँते खेल्छन् । त्यो त हामीले देख्यौं । ‘
अब यो भन्दा दुरावस्था, अराजकता र भद्रगोल अरु के हुन्छ भन्दै प्रश्न गरे ।