काठमाडौं ।
प्रेमी सञ्जीव बराइलीसँग वैचारिक मतभेद उत्पन्न भएको भन्दै इन्गेजमेन्ट तोडेकी गायिका मेलिना राईले समानता र न्यायपूर्ण समाजको स्थापना हुन जरुरी भएको बताएकी छन् ।
प्रेमीसँगको इन्गेजमेन्ट तोडेर एक्लीएकी गायिका राईले आफ्नो सम्बन्धसँग सम्बन्धित स्टाटस पोष्ट गर्दै आफूले गरेका निर्णयहरु विद्यमान जातीय विभेद र पितृसत्तात्मक सोचको विरुद्धमा भएको उल्लेख गरेकी छिन् ।
सम्बन्धमा ब्रेक लागेपछि पहिलो पटक बोल्दै उनले ‘मेरो पहिलो निर्णय–समाजमा विद्यमान जातीय विभेदको विरुद्धमा थियो । मेरो दोस्रो निर्णय– पितृसत्तात्मक सोचको विरुद्धमा हो ।
मेरो विचारमा मान्छे मान्छे बिचमा हुने सबै खाले अन्यायको अन्त्य हुनुपर्छ । समानता र न्यायपूर्ण समाजको स्थापना हुनु एकदम जरुरी छ ।’ भनेर स्टाटस लेखेकी छिन् ।
मेलिना र सञ्जीव दुवैले आफूहरू धेरै समय अगाडिदेखि प्रेममा रहेको र इन्गेजमेन्ट गरेको खबर आफैँले आफ्नो सामाजिक सञ्जालमार्फत सबैलाई दिएको उल्लेख गरेकी गायिका राईको स्टाटसले प्रेमी बराइलीको सम्बन्धमा आएको खटपटको कारण जातीय विभेद हो की भन्ने धेरैको अनुमान छ । राईको छोरी भएर बराइलीसँग विवाह गर्ने उनको निर्णयलाई किराँती समाजले बहिष्कार गरेको स्रोत बताउँछ ।