नेपाल एक्लैले बनाउन नसक्ने भन्दै पश्चिम सेती र सेती -६ जलविद्युत भारतलाई सुम्पियो — OSNepal

नेपाल एक्लैले बनाउन नसक्ने भन्दै पश्चिम सेती र सेती -६ जलविद्युत भारतलाई सुम्पियो

LC (KTM) August 09, 2022 0

काठमाडौं २४ साउन । लगानी बोर्ड नेपालले १२०० मेगावाटको पश्चिम सेती र सेती नदी-६ जलविद्युत आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी एनएचपीसी इन्डिया लिमिटेडलाई दिने निणर्य गरेको छ ।

प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बोर्डको ५२ औँ बैठकले ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी-६ संयुक्त जलविद्युत परियोजना निमार्णको लागि भारतीय कम्पनीलाई दिने गरी समझदारीपत्र (एमओयू) को मस्यौदा स्वीकृत गरेको हो ।

यी दुई आयोजना बनाउन २ अर्ब ४० करोड ७० लाख अमेरिकी डलर अर्थात हालको डलर मूल्यअनुसार करिब ३ खर्ब रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ ।

बोर्डका अनुसार पश्चिम सेतीको मात्र करिब एक खर्ब ५० अर्ब रुपैयाँ अर्थात १ अर्ब ४८ करोड डलर लाग्ने अध्ययने देखाएको छ । साथै सेती नदी= ६ एक खर्ब रुपैयाँ अर्थात ९२ करोड ७० लाख डलर लाग्ने देखिएको छ ।

एनएचपीसीले अहिले सम्म भारतमा जलविद्युत र सोलारबाट गरी दुई दर्जन आयोजना सम्पन्न मार्फत ७ हजार ७१ मेगावाट बिजुली उत्पादन गरिरहेको छ ।

यस भन्दा अघि २३ जेठमा बसेको लगानी बोर्डको बैठकले चिनियाँ कम्पनी थ्री गर्जेजसँग सम्झौता तोडिएपछि अलपत्र परेको आयोजनामा प्रधानमन्त्री देउवाले नेपाल एक्लैले पश्चिम सेती बनाउन नसक्ने भएकाले भारतीय कम्पनी ल्याउनुपर्ने प्रष्टीकरण दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर