कोरोना कहरमा दैलेखका गाउँका खेतमा रोपाइँ धमाधम — OSNepal

कोरोना कहरमा दैलेखका गाउँका खेतमा रोपाइँ धमाधम

LC (KTM) June 21, 2021 0

दुल्लु, ७ असार- कोरोना कहरमा पनि दैलेखका प्रत्येक गाउँका खेतमा रोपाइँको चटारो छ । सामाजिक दुरी कायम नगरी मास्कको र सेनिटाइजरको प्रयोगविना स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउँदै हरेक गाउँका खेतमा रोपाइँ धमाधम चलिरहेको छ । भारतबाट फर्केका नि कोरोना परीक्षणविनै र होम आइसोलेशनको बसाइँविनै सिधैँ खेतमा पुगी रोपाइँमा हली बाउसे बन्ने गरेको पाइएको छ ।

अहिले कसैलाई कोरोना सर्ने र त्यसले आफू थला परिएला वा ज्यानैसमेत लैजाला भन्ने भएको छ्रैन । बरु आफ्नो रोपाइँ कसरी निधोकै दिन गर्ने र समयमै भ्याउने भन्ने कुराको होडबाजी नै चलेको छ । दिनहुुँ दैलेखका प्रायः खेतमा मानिसको बाक्लो उपस्थितिमा धमाधम रोपाइँ गर्ने काम चलिरहेका छन् । शुरु–शुरुमा गाउँमा कोरोनाको डर मान्ने गरे पनि अहिले भने कसैलाई त्यसको डर छैन । अहिले सामाजिक दुरी कायम नगरी भेला हुँदा कोरोना सङ्क्रमण फैलिन्छ भन्ने डरत्रासविनै रोपाइँ गर्न प्राय मानिस जुट्ने गरेका छन् ।

“दिनहुुँ जसो रोपाइँको पालो छ रोपाइँमा नगइसुकै छैन मानो उमारेर मुरी बनाउने समय हो, अब कोरोनाको डर मानेर बसेर घरमा बसे भोलि पेट भोकै हुन्छ”, भन्नुहुन्छ नारायण नगरपालिका–४ का किसान भवी न्यौपाने । कम्तीमा ४०÷५० जना दैनिक रोपाइँमा सामाजिक दुरी कायमलगायत स्वास्थ्य मापदण्डविनै रोपाइँ गर्ने गरेको किसान बताउनुहुन्छ । रोपाइँमा न त सामाजिक दुरी नत मास्क नत सेनिटाइजरको प्रयोग नै गर्ने गरिएको छ भने न त उनीहरुलाई स्थानीय प्रशासनको निषेधाज्ञाले नै रोकेको छ । प्राय सगोलमा काम गर्ने, बिहानको नास्ता अनि खाना साबुन पानीको प्रयोगविनै रोपार, हलि र बाउसेले खेतमै खाने गरेका छन् । हलि बासुसे र रोपार हिलोले भरिएका हात त्यही खेतकै फोहोर पानीले धोएर किटाणुयुक्त हातले मजाले नास्ता र खाना खाने गरेका छन् ।

रोपाइँ शुरु भएसँगै यो नियती किसानको दैनिकी नै बनेको किसान बताउँछन् । अब मानो उमारेर मुरी फलाउने बेला के को मास्क के को सेनिटाइजर सबै मिलेर सगोलमा काम नगरे भोली आफ्नै छाक बन्द हुन्छ त्यसैले डरत्रास नमानेर काममा जुटेको भैरवीका किसान सुरज गुरुङले बताउनुभयो । उहाँको मात्र होइन अहिले दैलेखका प्राय खेतमा भेटिने सबैले यही उत्तर दिने गरेका छन् । पछिल्लो समय रोपाइँ नै कोरोनाको थलो बन्न सक्ने सम्भावना र खतरा बढेर गएको स्वास्थ्यकर्मीले आशंका गरेका छन् । महाबु गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश दसौदी कोरोना सङ्क्रमणबाट सुरक्षित हुन अपनाउनुपर्ने कुनै पनि मापदण्ड रोपाइँमा नअपनाइदा फेरि रोपाइँसँगै अर्को महामारी फैलिन सक्ने निकै सम्भावना बढेर गएको बताउनुहुन्छ ।

हरेक रोपाइँमा बिहानदेखि रोपाइँ नसकुञ्जेल ४०÷५० जना भेला हुन्छन् । अब कुनै एकलाई कोरोना भए पूरै समुदाय नै कोरोना सङ्क्रमणको शिकार हुने निश्चित रहेको र अब फेरि ठूलो महामारी फैलिने खतरा बढेको उहाँले आशंका गर्नुभयो । रोपाइँले कोरोना सङ्क्रमण फैलिने खतरा बढेको जिल्ला अस्पताल दैलेखका नि.प्रमुख थिरप्रसाद रेग्मीले पनि चिन्ता व्यक्त गर्नुभयो । “कोरोना फैलिएर समुदाय नै समाप्त नहोस्, अनि त्यस्ता सम्भावित खतरा टार्न र कोरोना नियन्त्रण गर्न जिल्लामा निषेधाज्ञा जारी गरिएको हो, तर रोपाइँको सिजनले कुनै पनि गाउँमा नियम पालना भएको छैन”, प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले भन्नुभयो । तत्काल जिल्लास्थित कोरोना नियन्त्रण समितिको बैठक बसाली सम्भावित खतराबाट बचाउन के कस्ता उपाय र स्वास्थ्य उपचारका शैली अबलम्वन गर्ने भन्ने बारेमा सबै सरोकारबालासँग सुझाव लिने काम गरिने उहाँले जानकारी दिनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर