एमाले नेताहरुसँग संवाद भइरहेको छ ,चुनावी तालमेल या एकता हुन सक्छ : पुन — OSNepal

एमाले नेताहरुसँग संवाद भइरहेको छ ,चुनावी तालमेल या एकता हुन सक्छ : पुन

LC (KTM) August 04, 2022 0

काठमाडौं १९ साउन । नेकपा माओवादी केन्द्रका इन्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले एमाले अध्यक्ष केपी ओलीले विगतका गल्ती स्वीकार गरे आगमी हुने चुनावमा तालमेल वा पार्टी एकता हुन सक्ने बताएका छन् ।

एकताका लागि एमालेले प्रतिनिधिसभा विघटनका विषयमा गरेको गल्ती स्विकार गर्नु पर्ने बताएका पुनले भने , ‘एमाले अध्यक्ष र मुल नेतृत्वले हिजोका गल्तीहरुको महसुस ग¥यो भने विस्तारै मोर्चाबन्दी हुन्छ, गठबन्धन हुन्छ, गल्तीको महसुस गर्ने बित्तिकै रातारात पार्टी एकता त नहोला, तर सहकार्यको ढोका खुल्छ ।’

कान्तिपुर टेलिभिजनको कार्यक्रम टफ टकका लागि पत्रकार दिलभुषण पाठकसँग कुरा गर्दै पुनले यस्तो बताएका हुन् । एमाले नेताहरुसँग आफूहरुको संवाद भइरहेको समेत खुलासा गरेका उनले दिर्घकालीन रुपमै काँग्रेससँग सहकार्यको नीतिमा आफूहरु नरहेको स्पष्ट पारे ।

‘हिजो हामीले एउटै पार्टी बनायौं । पहिलो अध्यक्ष र प्रधानमन्त्री ओलीजी हुनुहुन्थ्यो । उहाँले पार्टी र सरकारलाई ठीक ढंगले ड्राइभ गर्न सक्नुभएन । न सरकारको पर्फमेन्स राम्रो भयो । ६ वटा प्रदेशमा एब्सुलेट बहुमत थियो । संघमा दुई तिहाइको सरकार थियो । विकासको जग, सुशासनको जग बसाल्नुपर्ने थियो, त्यो भएन । पार्टी पनि पारदर्शी ढंगले सामूहिकताका आधारमा चलाउनुपर्नेमा त्यो भएन , फेरि यी कुराहरु करेक्सन भयो भने एकता पनि हुन्छ, तालमेल पनि हुन्छ गठबन्धन पनि हुन्छ । कुनै आश्चर्यको कुरा होइन । म वामपन्थीहरु मिल्नुपर्छ भन्नेमा हो ’ उनले भने ।

आफू ओली प्रधानमन्त्री हुँदा मन्त्रीका रुपमा रहेको र संदि विघटन गरेकै दिन राजीनामा दिएको स्मरण गराएका उनले मन्त्री पद नै छाडेर काँग्रेससँगको गठबन्धन निर्माणमा भूमिका खेलेकाले वर्तमान सत्ता गठबन्धसँग आफ्नो लगाब रहेको बताए ।

यद्यपि काँग्रेस एक्लै चुनावमा जाँदा यसअघिको २३ सिटबाट खुम्चिने भन्दै कांग्रेसले अघिल्लो निर्वाचनबाट माओवादी प्रत्यक्षतर्फ ३७ सिटसहित दोश्रो दल बनेको कुरालाई काँग्रेसले हेक्का राख्नुपर्ने बताए ।’ हाम्रो ३७ सिट थियो । अहिले केही बढ्छ, काँग्रेस २३ सिटमा थियो अहिले बढ्छ,फेरि वाम शक्ति मिल्दा काँग्रेस ५ वा ७ सिटमा जान्छ । काँग्रेस र वाम–लोकतान्त्रिक शक्ति मिल्दा एमाले ९ सिटमा झर्छ, यो सबैले भनिराखेको कुरा हो ।’ उनले भने ।

तत्काल एमालेसँग सम्भावना नभए माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, बाबुराम भट्टराई, वामदेव गौतम र उपेन्द्र यादवसम्म एउटै मोर्चामा सहभागी भएर निर्वाचनमा जाने सम्भावना रहेको नेता पुनले बताए ।

शमा काँग्रेसले परम्परावादी शक्ति र आफूहरुले प्रगतिशील वामपन्थी शक्तिको अगुवाई गरिरहेको भन्दै पुनले एमाले कहिले वामजस्तो र कहिले परम्परावादी शक्ति जस्तो देखिँदै भन्दै उनले अघि भने , ‘एमाले संक्रमणमा छ, उसले आफ्नो पोजिशन स्पष्ट गर्नुपर्छ । पोजिशन स्पष्ट गर्दै जाँदा वाम–समाजवादी गठबन्धनमा पनि आउन सक्छ’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर